५ पुष २०८२, शनिबार

सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघ्यो




धनगढी / सुदूरपश्चिम प्रदेशका जनसंख्या २७ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार दुई सय ५० पुगेको छ ।

योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश बनेको छ । २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो ।

पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा एक लाख ५८ हजार सात सय ५३ (छ दशमलव २२ प्रतिशत) ले जनसंख्यामा बृद्धि आएको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनेको छ ।

राष्ट्रिय जनगणनाको प्रारम्भिक परिणाम अनुसार नेपालको जनसंख्या १० वर्षको अवधिमा २६ लाख ९७ हजारले बढेर दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ ।

त्यस्तै, तथ्यांक विभागले यो वर्ष २०७८ को जनगणनामा नेपाली भूमि लिपुलेक र कालापानीमा भौतिक उपस्थिति रहन नसकेको बताएको छ ।

विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।

विभागले भारतीय अवरोधका कारण गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो ।

त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार