१० पुष २०८१, बुधबार

नागरिक सहकारी संस्थाको ११ औं साधारण सभा शुरु




धनगढी / नागरिक वचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा बिहीबार धनगढीमा शुरु भएको छ ।

साधारण सभाको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उद्घाटन गरे । सो अवसमा वोल्दै सांसद रानाले ०५१ सालमा एमाले सरकारले लिएको आर्थिक विकासको तीन खम्बे नीति अनुसार सहकारीले रोजगारी दिएको बताए ।

उनले भने एमाले सरकारले सहकारीले उत्पादन र उत्पादनमा योगदान गर्छ भन्दा हाँस्नेहरुलाई सहकारीको प्रगतिले जवाफ दिएको आशय व्यक्त गरे ।

सांसद रानाले छरिएको पूँजीलाई एकिकृत गरेर सीप र सृजनामा लगानी गर्नु राम्रो भएको बताउदै सहकारीले जनताको विश्वास जितेर अझ अघि बढ्नु पर्ने बताए ।

उनले संघीयतामा पनि स्थानीय तह लाचर भएर सहकारीका सम्वन्धमा स्पष्टरुपमा अगाडि आउन नसक्नु दुःखद भएको बताए ।

सो अवसरमा नेफ्स्कुनका केन्द्रीय सदस्य माधवप्रसाद जोशीले सुदूरपश्चिममा पनि सहकारीको संख्या बढ्दै गए पनि ८८ पालिकामध्ये अधिकांशसित सहकारी नीति र शाखा नभएकोले कठिनाइ भएको बताए । तर सहकारीहरुले आफ्नो तरिकाले जनताको हीतमा काम गरेर सहकारीलाई पनि स्थापित गरेको बताए ।

नागरिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष दिप्ती शाहीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी रुकमणी देवकोटालगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी लगायतलाई पनि दोसल्ला ओढाइ सम्मान पत्र समेत दिएर सम्मानित गरिएको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालक समितिका सदस्य पुनम अवस्थीले सञ्चालन गरेकी थिइन ।

अहिले भइरहेको वन्द सत्रले वार्षिक प्रतिवेदन पारित गर्ने बताइएको छ । प्रतिवेदन अनुसार सो सहकारीको ६३ लाख ६३ हजार ७०० चुक्ता पूँजी रहेको छ । गत आर्थिक वर्षमा सो संस्थाले ६ करोड, ६८ लाख ९४ हजार निक्षेप संकलन गरेकोमा १४ लाख २१ हजार ८०३ रुपियाँमा खुद नाफा गरेको थियो ।

८०० शेयर सदस्य रहेको नागरिक सहकारी लिमिटेडले गत वर्ष ११ करोड रुपियाँको कारोवार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार