६ पुष २०८२, आईतवार

विचार र सिद्धान्तका दृष्टिले सुदृढ संगठन मेरो लक्ष्य : शाह




धनगढी / आज शुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेपाली काँग्रेस कैलालीका वर्तमान सभापति नरनारायण शाह मनु सभापतिका उम्मेदवार हुन । कैलालीका लगातार दुई पटक सभापति भइसकेका शाहले आफूसंग जित्नका लागि पर्याप्त मतसंख्या रहेको दावी गर्दै भनेका छन्– म स्वाभाविक उम्मेदवार हुँ ।

उनले प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र (पाँच संसदीय निर्वाचन क्षेत्र र १० प्रदेश सभा निर्वाचन क्षेत्र) भएको कैलालीका अधिकांस प्रतिनिधिको समर्थन आफूलाई रहेको र अन्य जिल्लाबाट समेत ठूलो संख्यामा समर्थक प्रतिनिधिहरू विजयी भएकोले आफू जित्ने दाबी गरे ।

शाहले सुदूरपश्चिम प्रदेश काँग्रेसलाई विचार र सिद्धान्तका दृष्टिकोणले सुदृढ, वैचारिकरुपमा सबल कार्यकर्ता तथा गुटबन्दीको न्युनिकरण आफ्नो प्रमुख अजेण्डा रहेको बताए । भने– यो (प्रदेश समिति) पार्टीको इतिहासमा नितान्त नौलो अभ्यास र संरचना हो । त्यसैले स्वभाविकरुपमा थुप्रै चुनौति छन् । पार्टीमा विचार र सिद्धान्त, इतिहासबारे पर्याप्त प्रशिक्षण छैन । त्यसैले कम्तिमा वर्षको तीन महिना कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्छ ।

शाहले थपे– युवाहरूलाई बढिभन्दा बढि प्रशिक्षित गरेर पार्टीलाई चलायमान बनाउने ठोस कार्यक्रममा मेरो ध्यान केन्द्रीत हुनेछ ।
उनले हरेक संरचनामा ५० प्रतिशत युवा र ५० प्रतिशत अनुभवि पाका कार्यकर्ताहरू समेट्ने आफ्नो लक्ष्य रहेको बताए ।

२०५० सालमा कैलालीबाट काँग्रेसको क्रियाशील सदस्य बनेका शाह छोटो समयमा पार्टीको जिल्ला सभापतिमा पुग्ने नेता हुन् ।
२०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा पार्टीको सहसचिव बनेका थिए ।

उनी १२ औं महाधिवेशनमा कैलाली जिल्ला सभापति निर्वाचित भएका थिए भने १३ औं महाधिवेशनमा पनि पुनः जिल्ला सभापतिमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार