सुदूरपश्चिमका ५२२ वडामा एमालेले नेतृत्व छान्यो

डोटी / नेकपा (एमाले) ले सुदूरपश्चिमका नौ जिल्लाका ८८ तहका ७३४ मध्ये ५२२ वडामा वडा अधिवेशन गरेको छ । पहिरोले प्रभावित भएका कारण वझाङ जिल्लामा अधिवेशन हुन सकेको छैन ।
१२ गते देशभरका सबै वडामा वडा अधिवेशन गर्ने भनिए पनि विभिन्न कारणले सुदूरपश्चिममा भने १५ गतेसम्म वडा अधिवेशन गरिने एमालेले जनाएको छ ।
यसक्रममा कैलालीका १३ स्थानीय तहका १२६ मध्ये ११३ वडाका अधिवेशन भएको छ ।
बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिकाका वडा नम्बर ८, ९, भजनी नगरपालिकाका वडा नम्बर १, ३, ६ र कैलारी गाउँपालिका वडा नम्बर १ का वडा अधिवेशन केही दिन पछि हुने जनाएको छ । केही वडामा नेतृत्व विवादका कारण वडा कमिटी चयन हुन सकेका छैनन् ।
डोटी जिल्लाका विभिन्न ५८ वटा वडाहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वडा भएको छ । नौ वटा स्थानीय तहमा ६५ वटा वडाहरु रहेको डोटी जिल्लामा ५८ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए । डोटीका विभिन्न स्थानीय तहका ८ वटा वडाहरुमा अधिवेशन हुन बाँकी रहेको जनाइएको छ ।
डडेल्धुराका सात वटा स्थानीय तहका ५२ वडाहरु मध्ये ४३ वडा वडाहरुमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको नेकपा एमाले डडेल्धुराका संगठन विभाग प्रमुख प्रदीपकुमार पन्तले बताए ।
उनका अनुसार वडा अधिवेशन हुन बाँकी रहेका नौ वटा वडाहरुको अधिवेशन कात्तिक १४ गते पुरा गरिने छ ।
बैतडीका १० तहका ८४ मध्ये ७८ वडामा वडा अधिवेशन भएको छ । वाँकी वडाको आइतबारसम्म अधिवेशन सकिने छ । यस्तै दार्चुलाका ६१ मध्ये ५५ वडाको अधिवेशन भएको छ ।
अछामका ९१ मध्ये ६० वडामा वडा अधिवेशन भएको छ । यस्तै गरेर नौ तह रहेको कञ्चनपुरका ९२ वटै वडामा वडा अधिवेशन भएको छ । बाजुराका सबै ६९ वडा र चार पालिकाको अधिवेशन भइसकेको छ ।




