लगातारको वर्षाका कारण चुरे, तराई प्रभावित

धनगढी/ कैलालीको चुरे क्षेत्रमा लगातारको वर्षाका कारण चुरे तथा तराई क्षेत्र प्रभावित भइरहेको छ ।
केही दिनदेखि चुरे क्षेत्रमा भइरहेको वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो, भूस्खलन तथा तराईमा बाढी र डुबानको समस्या बढेको छ ।
अविरल वर्षाका कारण कैलालीका कर्णाली, मोहना, कान्द्रा, खुटिया लगायत ठुला तथा साना नदी, खोलामा पानीको बहाव बढेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कर्णाली र कान्द्रा नदीले तटीय क्षेत्रको निरन्तर कटान गरिरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कर्णाली र कान्द्रा नदीले तटीय क्षेत्रको जग्गा कटान गरिरहेको जानकारी दिए ।
बाढीका कारण पछिल्लो पटक कैलालीमा एक जनाको मृत्यु भएको छ । जिललको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ चरेलामा गुलरा नदीले बगाउदा सोही ठाउँका ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार साँझ लुगा धुँदै गरेकी फुफियालाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) प्रतीक बिष्टले बताए । प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार फुफियाको शव करिब सात किलोमिटर तल फेला परेको थियो ।
नदी कटानका कारण भजनी नगरपालिकाको वडा नम्बर ५, लालबोझीमा चार घरपरिवार विस्थापित भएका छन् । कटानका कारण संतु डंगौरा, दिलबहादुर चौधरी, बमबहादुर चौधरी र मंगल चौधरी विस्थापित भएको स्थानीय आशाराम चौधरीले बताए ।
उनले भने– नदीको बाढीले हुलाकी सडक कटान गरेर गाउलेहरूको खेतबाट बगिरहेको छ । नदी कटान नरोकिने हो भने अरु घरपरिवार पनि विस्थापित हुने देखिएको छ ।
त्यस्तै, कैलालीकै जानकी गाउपालिकामा पथरैया नदी गाउँवस्तीमा पसेका कारण एक सय बढी घर डुबानमा परेका छन्् । जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी जोशीका अनुसार पथरैया नदी वस्तीमा पसेका कारण जानकी गाउँपालिकाको वडा नम्बर ४ का ८० घरधुरी र वडा नम्बर ७ का ५८ घरधुरी डुबानमा परेका छन् ।
उनले सशस्त्र प्रहरी बलको उद्दार टोली डुंगा तथा अन्य आवश्यक उपकरणसहित त्यतातर्फ परिचालन गरिएको बताए । अविरल वर्षासंगै कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा कटान तीव्र भएकोे छ ।
रानी जमरा कुलरिया सिंचाईं आयोजनाले तटबन्ध निर्माण गरिरहेकै स्थानमा कर्णाली नदीले कटान गर्न थालेको स्थानीयले बताए । कैलाली जिल्ला प्रशासन कार्यालयले नदी कटानको क्रम जारी रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सजग हुन अपिल गरेको छ ।
त्यस्तै, कटैनी नदीमा आएको बाढी कैलारी गाउँपालिका वडा नम्बर ७, छटकपुरबसन्ता गाउँमा पसेको छ । सो गाउका ३० घर बाढीबाट प्रभावित भएको स्थानीय जीया चौधरीले जानकारी दिए । कटैनी नदीको बाढी वडा नम्बर ७ को बड्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पसेको स्थानीयले बताएका छन् ।
कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिका वडा नम्बर ५ का आधा दर्जन बस्तीहरू पहिरोको जोखिममा परेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर तामाङले पट्रेनी, भैतेतार, काफ्ले गैरा, गोपाले गाउँ लगायतका वस्तीहरू पहिरोको जोखिममा रहेको बताए ।
उनले भने– पहिरोका कारण वडाका पाँच घरमा क्षती पुगेको छ । आठ वटा गाईवस्तु पहिरोमा पुरिएर मरेका छन् । वडाध्यक्ष तामाङले जोखिममा रहेका वस्तीहरूलाई सुरक्षित क्षेत्रमा सार्ने प्रयास भइरहेको बताए । उनले भने– तर, कहाँ लगेर राख्ने भन्नेमा समस्या रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ५ गोपालेका मिल बहादुर रानामगरको टिनले छाएको दुई कोठे कच्चीघर वर्षाका कारण भत्किएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार मिलबहादुरको घर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।
सोही वस्तीका मान बहादुर थामीमगर, सुरतबहादुर थापा, डम्मर बहादुर थापा, गगन धामी, र मनोज राईको टिनले छाएको दुई कोठे कच्ची घर पहिरोको जोखिममा परेका छन् ।
सो वस्तीका खेम बहादुर सिजालीको काठले बनेको बाख्राको खोर भत्किएको जनाइएको छ । चुरे गाउँपालिका वडा नम्बर ६ मथुरियाका भगिराम नेपाली र जोगा चुनाराको संयुक्त काठले बनेको र फुसले छाएको बाख्राको खोर भत्किदा चार वटा बाख्राको मरेका छन् ।
त्यस्तै, गोदावरी नदी नजिक पहिरो गएका कारण पुरानो काठे पुलको छेउमा रहेको एउटा पसल बगेको छ । काठेपुल छेउमा रहेको गणेश पाण्डेको पसल बगाएको प्रशासनले जनाएको छ ।
पसल बगाउदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको गोदावरीका स्थानीय अनिसा क्षेत्रीले जानकारी दिइन् । पहिरोका कारण जमिन भासिदा गोदावरीको पुरानो काठे पुल पनि जोखिममा परेको छ । अनिशाले भनिन्– काठे पुल छेउको एउटा पिल्लरबाटै पहिरो खसेका कारण पुल नै जोखिममा परेको छ । खोलामा बाढी आएको छ । पहिरो जान रोकिएको छैन ।
अविरल वर्षाका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रका अधिकांस वस्ती डुबानमा परेका छन् । बिहीबार राति परेको अविरल वर्षाले दोदा नदीमा आएको बाढी आउदा कञ्चनपुरका दक्षिणी क्षेत्रका एक सय ८० घर डुबानमा परेको स्थानीयले जनाएका छन् ।
अविरल वर्षाले कञ्चनपुरको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका दर्जनौ घर डुबानमा परेका छन् । डुबानबाट मानवीय क्षति भने भएको छैन । तर, अन्नबाली र पशुचौपाया पानीले बगाएको स्थानीयले बताएका छन् । लालझाडी गाउँपालिका अध्यक्ष मनदसेन बडायकले किसानको माछापालनमा समेत क्षति भएको बताए ।
पुनर्बास नगरपालिका वडा नम्बर १० मा रहेको दोदा नदीमा पानीको बहाव बढेसगै धनगढी देखि पुनर्वास–बेलौरी सडक खण्ड अबरुद्ध भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए ।
आवतजावत अवरुद्ध
अविरल वषाएका कारण कैलाली र कञ्चनपुर जोडने धनगढीको निर्माणाधीन मोहना पुलमा क्षती पुगेको छ । वर्षाका कारण पुलमा गरिएको माटो भरान नदीले बगाएको छ ।
कञ्चनपुरतिरको माटो भरान कटान गरिएका कारण निर्माण कम्पनीले फलामे रड राखेर सवारी साधन तथा मानिसको आवतजावतमा रोक लगाएको छ ।
मोहना नदीको बहाव बढेसंगै कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने स्काई फोल्डिङ पुल पनि क्षतीग्रस्त भएको छ । डडेल्धुरामा अविरल वर्षाका कारण आएको बाढीले एक पुल बगाएको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ९ को डेबरी खोलामा आएको बाढीले झोलुंगे पुल बगाएको बताइएको छ । बिहीबार राती सो पुल बगेको थियो ।
उद्दारमा सक्रिय प्रहरी
कैलालीका विभिन्न नदीहरूको सतह बढेपछि नेपाली सेना, शशस्त्र प्रहरी र प्रहरीहरू उद्दारमा खटिएका छन् ।
गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाको वीच भागमा फसेको अवस्थामा बिहीबार राती करिब १२ बजे उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनीहरूको उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन भएको सूचना अधिकारी जोशीले बताए ।
कान्द्रा नदीमा चेतावनी तह पार
हावापानी विश्लेषण शाखा अत्तरियाका अनुसार लगातारको वर्षाका कारण कैलालीमा साना तथा ठूला नदीमा पानीको वहाव बढेको छ । हावापानी विश्लेषण शाखाका प्रमुख सिंगल चौधरीले कर्णाली नदीको सतह नौ मिटर पुगेको छ ।
त्यस्तै, मोहना नदीको पानीको वहाव एक दशमलव पाँच मिटर पुगेको छ भने कान्द्रा नदीमा पानीको वहाव तीन दशमलव छ मिटर पुगेको छ ।
मोहना नदीमा तीन मिटर, कान्द्रा नदीमा दुई दशमलव ३६ मिटर, खुटीया नदीको दुई दशमलव ३६ मिटरलाई चेतावनी तह मानिएको छ ।




