टीकापुर घटनाको छ वर्ष : बन्दीहरूको रिहाईको मागसहित प्रदर्शन
धनगढी / टीकापुर घटनाका बन्दीहरूलाई रिहाईको माग गर्दै सोमबार थरुहट थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारीणी सभाले कैलालीको लम्कीचुहा नगरपालिका बलियामा विरोध प्रदर्शन गरेको छ ।
टीकापुर घटनाको ६ वर्ष पुगेको दिन सोमबार घटनाका बन्दीहरूको रिहाईको, मुद्दा खारेजी लगायतका मागहरू राख्दै मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसद रेशमलाल चौधरीसहितका बन्दीहरूको बिना सर्त रिहाई, राज्यको हरेक निकायमा थारु समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश, र गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सहित प्रदर्शन गरिएको थियो ।
थरुहट/थारुहट मोर्चाले भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउदै आएको छ । थारुहट/थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारीणी सभाको आयोजनामा भएको कार्यक्रममा मोर्चाका केन्द्रिय सल्लाहकार तथा संविधान सभा सदस्य कृष्णकुमार चौधरीले टीकापुर घटनासंग जोडेर थारु समुदायमाथि झुटा मुद्दा लगाएर सरकारले फसाउने काम गरेको बताए ।
उनले भने– भदौ ७ गते थारु समुदायको लागि अधिकार प्राप्तिका लागि भएको विद्रोह हो । थरुहट/थारुवान संयुक्त मोर्चा, कैलालीका संयोजक माधव चौधरीले थारु समुदायको अधिकार र पहिचान सहित बन्दीहरूको रिहाईको लागि विद्रोह दिवश मनाइएको बताए ।
थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य प्रभातकुमार चौधरीले सरकारले झुटा मुद्दा लगाइएका सबैको मुद्दा खारेज गर्न माग गरे ।
थरुहट/थारुवान महिला मोर्चा, कैलालीका संयोजक सुशीला चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
छ वर्ष पहिले (२०७२ साल भदौ ७ गते) कैलालीको टीकापुरमा थरुहट, थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा आन्दोलनकारीहरूको हिंस्रक आक्रमणमा बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरी सुरक्षाकर्मी र एक डेढ वर्षीय बालक टेकबहादुर साउदको मृत्यु भएको थियो ।
घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द तथा सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको मृत्यु भएको थियो ।
हिंसात्मक घटनामा घटनास्थलबाट करिब आधा किलोमिटर टाढा घरमा खेलिरहेका डेढ वर्षीय टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको थियो । उनी सहायक हवल्दार नेत्र साउदका छोरा हुन् ।
आन्दोलनरत थरुहट/ थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमअन्तरगत उनीहरू टिकापुरतर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरीमाथि आक्रमण भएको थियो ।
सो घटनाको मुख्य योजनाकार रहेको अभियोगमा अदालतबाट जन्मकैदको सजाय पाएका सांसद रेशमलाल चौधरी हाल काठमाडौं कारागारमा जेल जीवन विताइरहेका छन् ।