१ माघ २०८१, मंगलवार

दार्चुला तुइन घटना : एसएसबीले लठ्ठा निकालेका कारण जयसिंह खसे– छानबिन समिति स्रोत



फाइल फोटो : बच्चा सहित तुइन तर्दे एक महिला

धनगढी / भारतीय सिमा सुरक्षा बल (एसएसबी) का जवानहरूले तुइनको लठ्ठा खोलेका कारण नै दार्चुलाको ब्यास गाउपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको सरकारी छानविन समितिको निष्कर्ष रहेको छ ।

घटना लगत्तै गृह मन्त्रालयले गठन गरेको छानविन टोलीले भारतीय एसएसबीले तुइनकोे लठ्ठा खसालेपछि ३३ वर्षीय जयसिंह महाकाली नदीमा खसेको निष्कर्ष निकालेको हो । यद्दपि सरकारी छानविन समितिले अझैं सो प्रतिवेदन सार्वजनिक भने गरेको छैन ।

आठ दिन दार्चुला र दुई दिन महाकाली नदी तटीय क्षेत्रका जिल्लाहरूको स्थलगत अध्ययन गरेर काठमाडौ“ फर्किएको सरकारी छानबिन टोली स्रोतले तुइन घटना भारतीय एसएसबीका कारण भएको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले अहिले छानबिन प्रतिवेदन तयार पारिरहेको बताइएको छ ।
सरकारी छानबिन टोलीमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख (डीआईजी) पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् ।

छानविन समितिलाई प्रतिवेदन पुरा गर्न एक साताका लागि समय थप गरिएको छ । समितिलाई सुरुमा १० दिनको समय दिइएकोमा थियो । समय अपुग भएको भन्दै समितिले दुई पटक गरी १५ दिन थप समय मागेको थियो । गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट लागू हुने गरी समितिको म्याद दोस्रो पटक एक साता थपेका छन् ।

मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी भारत जान लाग्दा गत साउन १५ मा बेपत्ता भएका थिए । घटना हुदा मालघाटमै रहेका प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइन फुकालेपछि धामी भेलमा खसेको बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार