एसएसबीले तुइन फुकालेको जयसिंह महाकालीमा खसे : अभियान
दार्चुला तुइन घटना
सरकारी छानबिन टोलीद्वारा मुख्यमन्त्री र मन्त्रीसंग भेट
धनगढी । अनअधिकार अभियान नेपालले दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मालघाटमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) का जवानहरुले तुइनको डोरी काटेको कारण नै जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको दाबी गरेको छ ।
अभियानले बुधबार राजधानी काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै एसएसबीका दुई जवानले तुइनको डोरी (तार) फुकालेको (काटेको) ले नै मालका ३३ वर्षीय जयसिंह महाकाली नदीमा खसेर वेपत्ता भएको उल्लेख गरेको छ ।
साउन १५ गते महाकाली नदीमा तुइन तरेर भारतको बाटो हु्“दै दार्चुला, खलंगा आउने क्रममा तुइन काटिएकाले उनी नदीमा खसेर वेपत्ता भएका थिए । उनी अहिलेसम्म वेपत्ता अवस्थामा छन् ।
जनअधिकार अभियानले पाँच दिनसम्म घटनाको स्थलगत अध्ययनपछि बुधबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
अभियानले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ– अध्ययन अनुगमन तथा प्रत्यक्षदर्शीको भनाई समेतबाट नेपाली नागरिक जयसिंह धामी भारतीय एसएसबीका सुरक्षार्कीहरुले तुइन फुकाइदिएका कारणले महाकाली नदीमा खसी वेपत्ता भएको कुरा पुष्टि भयो ।
अभियानका अध्यक्ष एकराज भण्डारीद्वारा हस्ताक्षरित सो विज्ञप्ती अनुसार साउन २० देखि २४ गतेसम्म अभियानका केन्द्रीय प्रतिनिधिहरु सन्तोष कोइराला र ललित विकको टोलीले दार्चुला र घटनास्थलको स्थलगत भ्रमण, अनुगमनका साथै प्रत्यक्षदर्शी, जयसिंहका आफन्त, स्थानीय बासिन्दा, प्रदेशका मन्त्रीहरु, प्रदेश सांसद, पत्रकार, अधिकारकर्मी लगायतसंग छलफल र सूचना संकलन गरेको थियो ।
अभियानले सरकारद्वारा गठित छानबिन समितिले चाढो सो घटनाको आधिकारिक र औपचारिक प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ ।
यसैबीच, दार्चुला तुइन घटनाका छानबिनका लागि गठित सरकारी टोलीले बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसंग भेट गरी घटनाबारे छलफल गरेको छ ।
तुइन घटनाबारे गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो ।
मुख्यमन्त्री तथा कानून मन्त्रीसंगको भेटका अवसरमा छानबिन टोलीले अहिलेसम्म भएगरेका कामकारबाहीका विषयमा जानकारी समेत गराएको छ ।
झण्डै एक साता दार्चुलामा अध्ययनका क्रममा रहेको सरकारी छानबिन टोलीले बैतडी तथा डडेल्धुराका महाकाली नदी तटीय क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले बुधबार तटीय क्षेत्र निरीक्षणका लागि कञ्चनपुरतर्फ गएको छ ।
सरकारी छानबिन टोलीले अध्ययन प्रतिवेदन भने काठमाडौंमा सार्वजनिक गर्ने बताइएको छ ।