२ माघ २०८१, बुधबार

दार्चुला तुइन घटना छानबिन टोलीले काम शुरु गर्‍यो



धनगढी । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मालघाटमा तुइन काटिएका कारण मालका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अध्ययनका लागि छानबिन टोलीले काम शुरु गरेको छ ।

गत साता शुक्रबार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएका कारण ३३ वर्षीय जयसिंह नदीमा खसेर वेपत्ता भएका थिए । नेपाल सरकारले घटनाको लगत्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा एक छानबिन टोली गठन गरेको थियो ।

छानबिन टोली बिहीबार बिहान साढे १० बजे जिल्ला सदरमुकाम खलंगाबाट घटनास्थल गस्कु मालघाटका लागि हिँडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

गस्कु महाकाली नदीपारी भारतीय भूमि हो भने मालघाट नेपाली भूमि हो । यही ठाउँमा लगाइएको तुइन तर्ने क्रममा घटना भएको थियो । वेपत्ता जयसिंहको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

जयसिंह बेपत्ता प्रकरणमा टोलीले सूक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन तयार पार्ने जनाएको छ । त्यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने प्रहरी निरीक्षक चन्दले बताए ।

जयसिंह तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार फुकालिदि“दा उनी नदीमा खसेको प्रत्यक्षदर्शीहरूले बताउदै आएका छन्् । भारतीय पक्षले भने सो स्थानमा एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबीसहित नेपाली प्रशासनलाई पत्र पठाएको छ ।

टोलीले बुधबार जिल्ला सदरमुकाम खलंगामा घटनाका प्रत्यक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल, र व्यास गाउँपालिकाका जनप्रतिनिधिस“ग छलफल गरेको थियो ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार