१८ बैशाख २०८१, मंगलवार

व्यवस्थित बसोबासको माग गर्दै मुख्यमन्त्री भट्ट समक्ष बुझाइयो ज्ञापनपत्र



धनगढी । कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले पहिरोपीडितलाई व्यवस्थित बसोबास र आवश्यक राहतको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

गत साउन १४ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरोले पूर्ण तथा आंशिक घर भत्केका परिवारको उचित बसोबास र आवश्यक राहत उपलब्ध गराई दिने माग गर्दै आइतबार सो ज्ञापनपत्र बुझाइएको हो ।

चुरे गाउँपालिकाको वडा नम्बर ६ बगेडी मौजनिया, गरेडे आमपानी, वडा नम्बर ५ गुणी पटरेनी गाउँ र केही घर वडा ४ का गरी दुई सय एघार बढी परिवार पहिरोबाट विस्थापित भई जंगलमा पाल टाँगेर बस्न बाध्य भएको अध्यक्ष रोकामगरले मुख्यमन्त्री भट्टलाई जानकारी गराए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले पहिरोपीडितको उचित बसोबासका लागि संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए । उनले वर्षायाममा पहिरोपीडितका लागि चाहिने आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए ।

वर्षाका कारण पहिरोले पूर्ण तथा आंशिक घर भत्केका परिवार सामुदायिक विद्यालय, आफन्त, केही आधा भत्केकै घर र केही परिवार भीमदत्त राजमार्गको खानीडाँडा खण्डमा त्रिपाल टाँगेर बस्दै आएका थिए ।

पहिरोपीडित प्रेम कार्कीले विस्थापित भएको एक वर्ष पुग्यो समस्या बुझिदिन कोही पनि गाउँबस्तीमा नआएको गुनासो गरे । उनले अन्यत्रका बाढीपहिरो पीडितले राहत र क्षतिपूर्ति पाएको सुनिए पनि आफूहरूले केही पाउन नसकेको गुनासो गरे ।

चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकाले विस्थापित परिवारको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिरहेको बताए । गाउँपालिकाभरि पहिरोपीडित र जोखिममा रहेका परिवारलाई पुनःस्थापनाको माग गर्दै गाउँपालिका कार्यालयले गत असोजमा पनि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

पुनःस्र्थापना गर्न सकिने सम्भावित ठाउँसमेत उल्लेख गरेर प्रदेश सरकारलाई लिखित मागपत्र बुझाए पनि त्यसपछि केही सुनुवाइ नभएको अध्यक्ष रोकामगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार