१८ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिममा २५ कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर बिधिबाट १ सय ८ नमूनाको परिक्षण गर्दा १० जना र एन्टीजेन बिधिबाट ७ सय ७५ नमूनाको परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ हजार ८ सय ८९ पुगेको छ । जसमध्ये ३४ हजार ९ सय ८० जनाले कोरोना जितेका छन ।स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा थप ३५ कोरोना संक्रमित निको भएका छन ।

प्रदेशमा हालसम्म १ लाख ९३ हजार २ सय १ नमूनाको पीसीआर र ७३ हजार १ सय १९ नमूनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको छ । प्रदेशमा आईतबार कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको निर्देशनालयले जनाएको छ ।

प्रदेशका बिभिन्न अस्पतालमा हाल २४ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको निर्देशनालयले जनाएको छ ।यसैबिच प्रदेशका बिभिन्न सीमा नाकाबाट आईतबार ५ सय ७४ जना नेपाल भित्रिएका छन । जसमध्ये गड्डाचौधी नाकाबाट २ सय ५२, झुलाघाट नाकाबाट ३८, गौरिफन्टा नाकाबाट २ सय ७५ र दार्चुला नाकाबाट ९ जना भित्रिएका छन ।

भित्रिएका मध्ये ४ सय १ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार