१ माघ २०८१, मंगलवार

वडा विभाजनमा सहमति नभएपछि नगरसभा स्थगित



धनगढी । कैलालीको टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनमा सहमति जुट्न नसकेपछि बिहिबार पुनः स्थगित भएको छ ।

नगरसभा असार १९ गते १ बजेसम्मका लागि स्थगित भएको सदस्य सचिव मोहन अर्यालले जानकारी दिए ।

असार ६ गते सुरु भएको नगरसभा यसअघि १० गते समेत स्थगित भएको थियो । बिहीबार बसेको कार्यपालिका बैठकले वडा विभाजनका विषयमा सहमति जुटाउन नसकेपछि नगरसभा स्थगित गर्ने निर्णय गरेको हो । नगरसभाले वडा विभाजन बाहेकका अन्य सबै प्रस्ताव पारित गरिसकेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

वडा विभाजनको प्रस्तावमा फरक मत राख्दै आएका वडाध्यक्ष रामलाल डगौराथारुले नगरसभामा आफ्ना तर्फबाट समेत प्रस्ताव लैजाने तयारी भैरहेको बताए । उनले दुईवटै प्रस्ताव उपर नगरसभामा छलफल गर्ने गरी सहमतिको प्रयास भैरहेको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले वडा विभाजनका विषयमा अझै पनि सहमतिको प्रयास भइरहेको बताए । उनले कार्यपालिका बैठकमा छलफल भैरहेको र आजै राजनीतिक दलहरूसँग पुनः छलफल गरिने जानकारी दिए ।

टीकापुर नगरपालिकामा हाल नौवटा वडा रहेका छन् । जनसंख्याका हिसाबले वडा नम्बर १ सबैभन्दा ठूलो वडा हो । यो वडामा ५० हजार जनसंख्या रहेको छ । बढी जनसंख्या छ । नगरपालिकाले राजनीतिक दलहरूले दिएको सुझाव अनुसार वडा नम्बर १ लाई ५ र वडा नम्बर २ लाई दुई वटा वडामा विभाजन गर्ने गरी तयारी थालेको छ । वडाध्यक्ष रामलाल लगायतका केहीले वडा नम्बर १ लाई ६ वटा वडा बनाउनुपर्ने माग गरिरहेका छन्् । नगरसभामा वडा विभाजनको प्रस्ताव पेश भए वडाध्यक्ष रामलाल पक्षमा दुईतिहाई जुट्ने सम्भावना रहेको स्रोतको दावी छ । नगरसभामा ४९ जना सदस्य छन् ।

उनको दावीमा वडा नम्बर १ बनगाउँका बासिन्दाले समेत साथ दिएका छन्् । उनीहरूले मंगलबार वडा नम्बर १ लाई ६ वडामा विभाजन गर्न माग गर्दै नगर प्रमुख तपेन्द्रबहादुर रावललाई ज्ञापनपत्र समेत बुझाए । उनीहरूले केही समय नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरेका थिए । उनीहरूले थारु समुदायलाई अल्पमतमा पार्ने गरी नगरपालिकाले वडा विभाजनको तयारी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार