२ माघ २०८१, बुधबार

सदनमा मन्त्रीहरुको जवाफ



धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले आगामी आर्थिक वर्षको योजनाहरु कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको प्रतिक्रिया दिएका छन ।

आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको सदनमा जवाफ दिँदै उनीहरुले प्रदेशको समग्र विकासका लागि बजेट राम्रो रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सभा सदस्यसंगै सम्पूर्ण बुद्धिजिवी वर्गहरुले सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रदेश सभा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयले परिणाममुखी काम गरेर देखाउने बताए ।

‘प्रदेश सभा सदस्यज्यूहरूबाट धेरै योजना रहेको र मन्त्रालयले कार्यान्वयन गर्न सक्दैन भन्ने निरासापूर्ण अभिव्यक्तिहरू आए’ मन्त्री सोडारीले भने– यी निरासाजनक अभिव्यक्तिलाई सकारात्मक सोचका साथ परिणाममुखी बनाउने छु ।

उनले विकास भनेको पूर्वाधारलाई लिईने गरेकोले मन्त्रालयमा बढी बजेट रहेको दाबी गरे । उनले भने– क्रमागत, बहुवर्षीय लगायतका अधुरा तथा नयाँ पूर्वाधार विकासका कामहरू सम्पन्न गराउन मन्त्रालय लागिरहेको छ ।
‘मन्त्रालयमा करिब ४० प्रतिशतमात्र कर्मचारी छन् । गत वर्ष बहुवर्षीय आयोजनाहरूमा ठेक्का लगाउने भन्दाभन्दै हुन सकेन । यो वर्ष बहुवर्षीय योजनाहरूको ठेक्कापट्टा शुरु गरिने छ’ उनले भने ।

प्रदेश सभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले कैलाली र कञ्चनपुरको वन फडानीलाई सरकारले गम्भिरताका साथ लिएको बताए । उनले भने– वन फडानीका सम्बन्धमा मन्त्रालयले छानविन समिति गठन गरेको र अध्ययन गरि अन्तिम प्रतिवेदन आउने चरणमा रहेको छ ।

मन्त्री धामीले चालु आर्थिक वर्षमा सबैभन्दा बढी वन सम्बन्धी मुद्दा दर्ता भएको बताए । उनका अनुसार प्रदेशभरी एक सय २१ वटा वन सम्बन्धी मुद्दा दर्ता भएकोमा कैलाली र कञ्चनपुरमा मात्र एक सय मुद्दा दर्ता भएका थिए ।

उनले मन्त्रालयले अहिले मन्दिरहरूमा बजेट घटाएको बताए । उनले भने– विगतमा मन्दिर निर्माणमा बजेट घटाउनुपर्छ भन्ने मैले नै आवाज उठाएको थिए । हामी आगामी आर्थिक वर्षको बजेटमा विगतको भन्दा मन्दिरमा करिब ३५ प्रतिशत बजेट घटाएका छौं ।

मन्त्री धामीले आफ्नो मन्त्रालयको कुल बजेटमध्ये १० प्रतिशत रकममात्र मन्दिरहरूमा विनियोजन गरिएको बताए ।

उनले प्रदेश सभामा झ्यालबाट योजना आएको आरोप लगाएकोमा गम्भिर ध्यानाकर्षण भएको बताए । उनले भने– मन्त्रालयले योजनाहरू कार्यान्वयनका लागि संसदहरूको सुझावका आधारमा अघि बढ्ने छौं ।

आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले दोहोरो, ठेगाना उल्लेख नभएका, ठेगाना फरक र रकम फरक परेका योजनाहरू रातो किताबमा सच्याइने बताए ।

मन्त्री शाहले बजेटको आकार संवेदनशिल हुने हुँदा वास्तविक बजेट कायम नगरी आउन नसक्ने बताए । ‘आयोजनाहरूको दोहोरो र ठेगाना फरक परेको सुझावमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ उनले भने– ‘यस्ता योजनाहरू सच्याइने छ ।’

‘प्रदेश सरकारले व्यवस्थापकिय पक्षको मात्र जिम्मेवारी भएकाले खोप खरिदमा रकम विनियोजन नगरिएको हो’ मन्त्री शाहले भने ।

मन्त्री शाहले आयोजना बैंकको अवधारणालाई पूर्णता कार्यान्वयन गर्न नयाँ भन्दा पुरा योजनालाई प्राथमिकता दिइने बताए ।

उनले शाहले ठुला गौरवको आयोजनामा बजेट अभाव हुन नदिन मन्त्रालय सचेत रहेको बताए । भने ‘सन्तुलित विकासलाई जोड दिँदै स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । प्रदेश गौरवका आयोजना र महत्वकाँक्षी योजनामा बजेट अभाव हुन नदिनेमा पनि मन्त्रालय सचेत रहेको छ ।’

बैठकमा मोबाइल नचलाउन सांसदलाई सभामुखको रुलिङ

सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन रुलिङ गरेका छन्् ।

सोमबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गरेका हुन् ।

आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केहि सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौँ अधिवेशनको १९ औँ बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरूलाई मोबाइल नचलाउन हुन म अनुरोध गर्दछु’ सभामुख थापाले भनेका थिए ।

सभामुखज्यू प्रश्न गर्न पाऊ– संसद खडका

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले सभामुखसंग प्रश्न गर्न पाउँ भनि आग्रह गरेका थिए ।

आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले स्पष्ट जवाफ नदिएपछि प्रदेश सभा सदस्य खड्काले प्रश्नको लागि समय माग गरेका थिए ।

खडकाले समय माग गरेपनि सभामुख थापाले सो समय उपलब्ध गराएनन् । प्रदेश सभा सदस्य खडकाले भने –‘मन्त्रीबाट स्पष्ट जवाफ नआएपछि सदनभित्र प्रश्न गर्न पाइन्छ तर, सभामुखले गरेको रुलिङ गलत भयो ।’ उनले सदनमा लिखित तथा मौखिक पनि प्रश्न गर्न सक्ने संवैधानिक व्यवस्था रहेको बताए ।

मन्त्री शाहले जवाफ दिएपछि प्रदेश सभा सदस्य खड्का प्रश्न गर्न उठेका थिए । सभामुख थापाले प्रदेश सभा सदस्य खड्कालाई ‘सचिवालयमा प्रश्नका लागि पत्र दर्ता गर्नुभएको थियो ?’ भनी प्रश्न सोधे ।

सांसद खड्काले पत्र दर्ता नगरेको जवाफ दिएका थिए । सभामुख थापाले भने– प्रश्न दर्ता गर्न पाइयो, तर प्रश्ननै दर्ता भएको छैन । सभामुखको सो जवाफपछि प्रदेश सभा सदस्य खड्का आफनो ठाउँ बसे ।

प्रदेश सभा बैठक सकिएपछि अनुमोदन दैनिकसंगको कुराकानीमा प्रदेश सभा सदस्य खड्काले सभामुखको रुलिङ गलत भएको प्रतिक्रिया दिँदै– सभामुखले जे रुलिङ गर्छन् सदनमा त्यो ठिक मान्नुपर्छ । तर, सदनमा मन्त्रीले दिएका कतिपय जवाफमा अस्पष्टता थियो ।

उनले बजेटको रातो कितावमा भएका त्रुटी लगायतका विषयमा मन्त्रीबाट स्पष्ट जवाफ नआएपछि प्रश्न गर्न खोजेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार