२ माघ २०८१, बुधबार

डोटीकी लक्ष्मीलाई जिउँदै जलाएर मार्न खोज्ने उनका श्रीमान् पक्राउ



डोटी ।  डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै जलाएर मार्न खोज्ने उनका श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो। 

पक्राउ परेका भाटलाई मंगलबार जिल्ला अदालत डोटीबाट ६ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा लक्ष्मीसहित नावालक छोरी जलेर गम्भीर घाइते भएका थिए। छोरी र श्रीमती घाइते भएलगत्तै फरार भएका भाटलाई जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

फरार रहेका भाटले प्रयोग गर्ने टेलिफोनको कल डिटेलका आधार र मोबाइल ट्रेसिङबाट उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताए। 

घाइते लक्ष्मीलाई जेठ १७ गते हेलिकोप्टरबाट काठमाडौं लगेर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अहिले लक्ष्मीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको उपचारमा सम्लग्न अस्पतालका चिकित्सकद्वय डा  सुरेन्द्र बस्नेत र डा प्रकृति ज्ञवालीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार