२ माघ २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सभामा एमाले विवाद : सात जनालाई सातदेखि १५ दिनसम्म निलम्बन




धनगढी / सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्माओली पक्षिय एमालेका सात जना प्रदेश सभा सदस्यलाई सात देखि १५ दिनसम्म निलम्बन गरिएको छ ।

एमाले संसदीय दलको सोमबार दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभाका ती सात जना सदस्यहरुको भूमिका हेरेर सात दिन, १० दिन र १५ दिनसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ ।

प्रमुख सचेतक दुर्गाकुमारी विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन र नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई सात दिन निलम्बन गरिएको छ ।

संसदीय दलले सभामुखलाई पत्राचार गरेको खण्डमा निलम्बित प्रदेश सभा सदस्यहरु निलम्बनको अवधीमा प्रदेश सभा र प्रदेश सभाका विभिन्न समितिका बैठकमा उपस्थित हुन नपाइने व्यवस्था छ ।

सात जनाले जेठ २५ गते भएको बैठकमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिएनन् । सोही विषयमा आधारित रहेर सातै जनालाई स्पष्टीकरण सोधिएको थियो । सातै जनाले स्पष्टीकरण पनि बुझाएका थिए । तर स्पष्टीकरण चित्त बुझ्दो नभएकोले सो निलम्बन गरिएको स्रोतको भनाइ छ ।

त्यसअघि पूर्वमन्त्री बोहरालाई त संसदीय दलको बैठकका निर्णय विरुद्ध बोलेको भनेर पनि स्पष्टीकरण सोधिएको थियो । सातै जनाले नीति तथा कार्यक्रमका विरुद्ध समेत मतदान गरेका थिए ।

सातै जनाले पार्टीको स्थायी समितिले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले सरकारका विरुद्ध उभिएको बताउने गरेका छन् ।
दलका्े बैठकमा सातै जनाको उपस्थिति थियो तर उनीहरुले उपस्थितिमा भने हस्ताक्षर गरेनन् । बैठकमा पठानसिंह बोहरा, रतन थापा, बलदेव रेग्मी लगायतले आफ्ना कुरा राखेका थिए ।

हामी बैठकमा अनौपचारिकरुपमा सहभागिता जनायौ प्रदेश सभा सदस्य लिलाधर भट्टले भने अनौपचारिकरुपमै आफ्ना कुरा राख्यौ । उहाँहरुले गरेको कार्वाही पार्टीको विधान अनुसार मिल्दैन, सभामुखले विवेक पुगाउनुहुन्छ उनले भने ।

सोही बैठकमा पूर्व प्रमुख सचेतक तारा लामातामांगले सबै प्रदेशमा एमाले एकतावद्ध देखिएको बेला यस्तो निर्णय गर्न नहुने सुझाव दिनु दिएका थिए । उनले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार