२३ बैशाख २०८१, आईतवार

बैतडीमा पहिलोपटक कोरोना सङ्क्रमित महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइयो



बैतडी । बैतडीमा पहिलोपटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ। दशरथचन्द नगरपालिका—४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन्।

नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए। 

शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको हो। उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ । ती महिलाले पहिलो सन्तानका रुपमा छोरा जन्माएको अस्पतालले जनाएको छ।

अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यसैबीच कोरोना कहरबीच पनि जिल्ला अस्पतालमा प्रसुती सेवा प्रदान भइरहेको छ। अस्पतालमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै गएपछि आकस्मिक र प्रसुतिबाहेकका सबै सेवा बन्द गरिएको डाक्टर जोशीले बताए।

बैतडीमा हाल ६०० बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार