संसद विघटनविरुद्धका रिटमा जेठ १३ र १४ गते पेशी तोकियो
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको जेठ १३ बिहीबार र जेठ १४ गते शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग भएका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ ।
संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।
संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।