बाजुरामा बाढीले खेतमा पाकेको गहुँ सोत्तर
बाजुरा । बाजुरा बुढीगंगा नगरपालिका–२ मा पर्ने घट्टेखोलामा आएको बाढीले पाकेको गहुँ बगाएको छ ।
बिहीबार दिउँसो आएको अविरल वर्षासँगै खोलामा आएको बाढीले ताप्री सेराको खेलमा पाकेको गहुँबली बगाएको वडा नम्बर २ वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए ।
बाढीले किसानले लगाएको २५ रोपनीको खेतीमा क्षती पुर्याएको वडाध्यक्ष थापाको भनाइ छ । कुँडी हुँदै आएको खोलाको बाढीले उक्त खोलामा बनाइएका घट्टसमेत बगाएको छ ।
किसानहरुले खेत रोपाइँका लागि राखिएका धानको बीउ समेत बगाएर लगाएको बुढीगंगा नगरपालिका–१ कुडी स्थानीय भरतराज उपाध्यायले बताए ।
जिल्लाको तल्लो क्षेत्रमा आएको असिना–पानीले पाकेको गहुँमा समेत क्षति पुर्याएको उपाध्यायले बताए ।
घट्टखोलामा आएको बाढीले गर्दा साँफे मार्तडी राजमार्ग सडकसमेत अवरुद्ध बनेको छ । खोलाले बगाएर सडक पनि भत्किएको छ ।