८ कार्तिक २०८१, बिहीबार

एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु



धनगढी ।  सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना  संक्रमितको मृत्यु भएको छ । बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।

 कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो ।  आइसियूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको, धनगढी उपमहानगरपालीका ४का ४० बर्षिय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यसै गरि  कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उता महाकाली अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक, भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको र महाकाली नगरपालिकाका ३० वर्षीय पुरुषको  आजै मृत्यु भएको महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।  

बझाङमा पनि कोरोना संक्रमणका कारण एक संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला अस्पतालले बझाङले जनाएको छ ।  उता  अछामका पनि एक संक्रमितको पुरुषको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका–५ कालिका बाहुन गाउँका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनकोे नेपालगंजबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार