८ कार्तिक २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सरकारले थप आइसोलेसन बनाउने, सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बन्दै



सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजनको कमी हुन नदिने गरी कोरोना संक्रमितको उपचार व्यवस्था गर्ने निर्णय गरेको छ। 

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको छलफलमा कोरोना संक्रमितको उपचारका अक्सिजनको अभाव हुन नदिइने निर्णय गरिएको हो। 

बिहीबारको बैठकमा प्रदेशभरीका सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भइरहेको जानकारी गराइएको थियो। साथै, अक्सिजन प्लान्ट निर्माण सम्पन्न नभएको अवस्थमा बाहिरबाट आयात गरेर भएपनि अक्सिजनको व्यवस्था गरिने निर्णय गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयका १ जना सदस्यले जानकारी दिए। 

कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालको कोभिड आइसोलेसनमा बिरामीको चाप बढेकाले अर्को आइसोलेसन निर्माण गर्ने निर्णय समेत भएको छ। 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी बिहीबारदेखि नै गेटा मेडिकल कलेजको एउटा भवनमा आइसोलेसन र होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय भएको हो। 

यस्तै, अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमानाका भएर नेपाल प्रवेश गर्नेको नाकामै प्रभावकारी स्वास्थ्य जाँचको व्यवस्थालाई थप प्रभावकारी बनाइने पनि बिहीबारको बैठकले निर्णय गरेको छ। 

सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणका लागि थप जनशक्ति तथा उपकरणको समेत व्यवस्था गर्ने भनिएको छ। 

यस्तै, सेती प्रादेशिक अस्पतालमा थप भेन्टिलेटरसहित आइसीयु बेड थप्ने र संक्रमितको उपचारका लागि निजी अस्पतालहरुलाई पनि तयारीमा राख्न आग्रह गरिने समेत बिहीबारको बैठकले निर्णय गरेको छ। 

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भएको  छलफलमा मुख्यमन्त्री भट्टसहित सामाजिक विकास मन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगर मेयर, सामाजिक विकास मन्त्रालयका सचिव, संघीय जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपुर्ति प्रमुख, सेती अस्पतालका मेसु लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार