७ कार्तिक २०८१, बुधबार

दलित संवाद कार्यक्रम



धनगढी । धनगढीमा सोमबार सुदूरपश्चिम प्रदेश स्तरीय दलित संवाद कार्यक्रम भएको छ ।

दलित सेवा संघको आयोजनामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरे ।

सो अवसरमा सभामुख थापाले दलित सम्बन्धी बनेका ऐन कानूनहरूको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरू गम्भीर हुनुपर्ने बताए । सभामुख थापाले भने– हामीले सामाजिक विभेद हटाउन ऐन, नियमावली, कार्यविधि, निर्देशिका लगायत सबै आवश्यक कानुन निर्माण गरिसकेका छौं । कानुनमा कुनै कमीकमजोरी छैन । अब कार्यान्वयन गर्ने पक्षमा आन्दोलन अघि बढ्नुपर्छ ।

सभामुख थापाले ऐन कानुन कार्यान्वयन भए आफैं सामाजिक रुपान्तरण हुने बताए । उनले भने– अब जहाँ कमीकमजोरी छ, त्यही नै सरोकारवालाहरूले दबाब बढाउनुपर्छ ।

उनले युवाहरूले जातीय विभेद अन्त्यका लागि नेतृत्व लिन सुझाव दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा सामाजिक विकास समितिका सभापति कुन्ति जोशीले महिला र दलित वर्ग अझै पनि पछाडी परेको चर्चा गरिन् । उनले भनिन– महिला र दलित वर्ग विभेदमा छ । सुनिश्चित गरिएका अधिकार कति कार्यान्वयन र प्रयोगमा आए ? उनले जातीय, वर्गीय, लैङ्गिकता लगायतका सबै प्रकारका विभेद अन्त्य गर्न सबै एकजुट भएर अघि बढनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैका, प्रदेश सभा सदस्य पूर्णा जोशी, प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द पाध्याय, संविधान सभा सदस्य हरि श्रीपाइली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संघका राष्ट्रिय अध्यक्ष इश्वरीप्रसाद विकको अध्यक्षतामा भएको थियो ।

दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले कार्यक्रमबारे जानकारी दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार