७ कार्तिक २०८१, बुधबार

मनोरन्जन क्षेत्रको अवस्थाबारे छलफल



धनगढी । सुदूरपश्चिम प्रदेशमा मनोरञ्जन क्षेत्रको अवस्था विश्लेषणसहित यसको व्यवस्थापनको लागि न्युनतम मापदण्ड सम्बन्धी छलफल कार्यक्रम बिहीबारदेखि धनगढीमा शुरु भएको छ ।

निड्स नेपाल र विश्वास नेपाल नामक संस्थाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम भएको छ । छलफल कार्यक्रम आज (शुक्रबार) सम्म सञ्चालन हुने जनाइएको छ ।

छलफल कार्यक्रमको कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले उद्घाटन गरे ।

सो अवसरमा समन्वय समिति प्रमुख तामाङले मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकहरूको ज्याला कम भएकोले नेपाल सरकारले विना धितोका लगानीको व्यवस्था गरेको बताए ।

कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल, श्रम तथा रोजगार कार्यालयका जनकसिंह उखेडा, विश्वास नेपालका सल्लाहकार विमल भेटवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विश्वास नेपालका तारा भण्डारी अध्यक्षतामा भएको थियो ।

संस्थाका कार्यकारी निर्देशक बाल कुमारी आलेले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुका साथै मनोरञ्जन क्षेत्रका श्रमिकहरूको विद्यमान अवस्थाबारे चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन निड्स नेपालका सहकार्य निर्देशक प्रकाश मडैले गरेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउद, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, धनगढी उपामहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार