७ कार्तिक २०८१, बुधबार

धनगढीका १४ वर्षीय किशोरको ‘अद्भुत इन्द्रेनी’ खण्डकाव्य



धनगढी : धनगढी सिद्धार्थ शिशु सदन स्कुल धनगढीमा कक्षा ९ मा अध्ययनरत बाल कवि बिभुति अधिकारीद्वारा लिखित छन्दोबद्ध खण्डकाव्य ‘अद्भुत इन्द्रेनी’ को लोकार्पण भएको छ। कैलाली जनपुस्तकालयद्वारा धनगढीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले उक्त खण्डकाव्यको लोकार्पण गरे। कृति लोकार्पण गर्दे प्रमुख अतिथि प्राज्ञ डा. नेपालले १४ वर्षीय बालक बिभुति अधिकारीले शास्त्रीय छन्दमा लेखेको यो कृतिले बिभुतिलाई साँच्चिकै बिभुति बनाएको चर्चा गरे।

सम्भबतः यति सानै उमेरमा छन्दबद्ध खण्डकाव्य लेख्ने नेपालमै उनी पहिलो कवि हुन सक्ने बताउँदै उनको अद्भुत क्षमताको प्रशंसा गरे। कार्यक्रममा कैलाली जनपुस्तकालयका अध्यक्ष संस्कृतिविद् डा.टीएन जोशीले बिभुति अधिकारीमा बिलक्षण प्रतिभा भएको बताउँदै उनको कृति उत्कृष्ट काव्य भएको बताए। उनले भने, ‘सुदूरपश्चिमबाट काव्यको दीयो बलेको छ। बिभुतिको प्रतिभालाई राज्यले कदर गर्नु पर्छ’

कार्यक्रममा महाकाव्यकार मनिराज जोशी, साहित्यकार पदमराज जोशी ‘प्रभात’ प्राज्ञ कवि वासुदेव पाण्डेय र कवि दीपक खनाल र सिद्धार्थ एकेडेमीका प्राचार्य सीबी चन्दले पनि बालकवि बिभुतिको खुलेर प्रशंसा गरे।

कार्यक्रममा बालकवि बिभुतिले धन्यबाद मन्तव्य दिदै आफूलाई छन्द सिकाउने गुरूहरू र घरमा आफूलाई उत्प्रेरित गर्ने पिता–माताको आशीर्बादले आफूले खण्डकाव्य लेख्न सकेको बताए। उनले भने, ‘लकडाउनको माहोल मेरा लागि बरदान साबित भयो । ‘बिभुतिले महिनामै उक्त बेजोड खण्डकाव्यको सृजना गर्न सफल भएका हुन्। लोकार्पण समारोहमा बिभुतिका पिता धनगढीको दून एकेडेमीका प्रिन्सिपल रामप्रसाद उपाध्यायले छोराको प्रतिभा देखेर आफू सारै गर्वित बनेको बताए। १४ वर्षीय बालकवि बिभुतिको यो खण्डकाव्यका बारेमा धेरै विद्वानहरूले प्रतिकृया दिदै बिभुतिको बिलक्षण प्रतिभाप्रति खुशी व्यक्त गरेका छन्। लोकार्पण समारोहमा साहित्यकार, कलाकार, प्राध्यापक, कवि तथा शिक्षक विद्यार्थीहरूको उपस्थिति थियो।

कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीको सभापतित्वमा भएको कार्यक्रममा सिद्धार्थ स्कुलका प्रअ सीबी चन्दले स्वागत र साहित्यकार टोपेन्द्र शाहले कार्यक्रमको सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार