४ पुष २०८२, शुक्रबार

नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक : महिलाहरू बढी पीडित



धनगढी । सुदूरपश्चिम प्रदेश सहित नेपालमा पछिल्ला वर्षहरूमा महिलामाथि हुने हिंसा तथा मानव अधिकार हनन्का घटनामा लगातार बृद्धि आइरहेको तथ्यांकले देखाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा सुदूरपश्चिम प्रदेशमा पनि वर्ष २०२० को अवधिमा पुरुषको तुलनामा महिलामाथि अधिक हिंसा तथा मानव अधिकार हनन्का घटना भएको उल्लेख छ ।

मानव अधिकार वर्ष पुस्तक २०२१ अनुसार सुदूरपश्चिम प्रदेशमा सन् २०२० को अवधिमा मानव अधिकार हनन्का पाँच सय १७ घटना भएका थिए । मानव अधिकार हनन्का ती घटनामा चार सय १९ महिला र ९८ जना पुरुष पीडित भएका थिए ।

गत वर्ष (सन् २०२०) मा गैरराज्य पक्षबाट मानव अधिकार हनन्का चार सय ६५ घटना भएकोमा चार सय १६ महिला पीडित भएका थिए । त्यस्तै, राज्य पक्षबाट मानव अधिकार हनन्का ५२ घटना भएकोमा तीन जना महिला उल्लेख छ ।

‘वर्ष सन् २०२० मा कोभिड–१९ महामारीका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतिका सबै घटनाहरू कानुनी प्रक्रियासम्म आउन नसकेको र घटनाहरूको अनुगमन तथा प्रलेख गर्ने कार्यमा समेत बाधा पुगेको कारणले घटना संख्यामा कमि आएको देखिएको छ’ शुक्रबार मानव अधिकार वर्ष पुस्तक सार्वजनिकिरण कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक खडकराज जोशीले भने ।

इन्सेकका प्रदेश संयोजक जोशीले सन २०१९ मा नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा छ हजार छ सय ४२ जना पीडित भएको बताए । त्यस्तै, सन २०२० मा मानव अधिकार हनन्का घटनामा पाँच हजार पाँच सय ४३ जना पीडित भएको उनले बताए ।

इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ अनुसार सन् २०२० मा मानवअधिकार उल्लंघनका घटनाहरूमा राज्य पक्षबाट ५८ महिला र छ सय १७ पुरुष गरी छ सय ७५ जना पीीडत भएका थिए । भने गैरराज्य पक्षबाट चार हजार दुई सय ७१ महिला, पाँच सय ९५ पुरुष, एक जना तेस्रो लिङ्गी र एक पहिचान नखुलेको चार हजार आठ सय ६८ जना पीडित भएका थिए ।

इन्सेक वर्ष पुस्तक अनुसार सुदूरपश्चिम प्रदेशमा महिला र बालबालिकामाथिको हिंसा र ज्यादतीका घटनामा बृद्धि भइरहेको छ । पीडित भएको पाइएको इन्सेक प्रतिवेदनले देखाएको छ । तथ्यांकअनुसार प्रदेशमा दुई हजार छ सय छ जना महिला पीडित भएका छन् ।

इन्सेक प्रतिवेदन अनुसार बेचविखन प्रयासबाट ३२ जना, घरेलु हिंसाबाट दुई हजार छ सय छ जना, कथित बोक्सीको आरोपमा ५८ जना, बलात्कारका घटनामा छ सय ४८ जना, बलात्कारका प्रयासका घटनामा एक सय ५२ जना र यौन दुव्र्यवहारका घटनामा ६२ जना र बेचविखनका घटनामा २५ जना महिला पीडित भएको उल्लेख छ ।

त्यस्तै, बाल अधिकारका घटनामा एक हजार चार सय ६१ ज्ना पीडित भएको जनाइएको छ । बलात्कार घटनामा नौ सय ८९, यौन दुव्र्यबहारका घटनामा तीन सय ५६ जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट १९ जना पीडित भएको उल्लेख छ ।

सन २०२० मा जातीय विभेदका घटनामा छ पुरुष र एक महिला गरी सात जना पीडित भएका छन् । सन २०१९ मा २०१९ मा जातीय विभेदका घटनामा पा“च जना महिला र एक जना पुरुष गरी छ जना पीडित भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा अन्यपक्षबाट २० महिला र २० पुरुष गरी ४० जनाको हत्या गरिएको छ भने तीन जना घाइते बनाइएको उल्लेख छ ।

इन्सेकले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा भएको जनाइएको छ । कैलालीमा राज्यपक्षबाट तीन महिला र १९ पुरुष गरि २२ तथा गैरराज्यपक्षबाट एक सय ७० महिला र १२ पुरुष गरि एक सय ८२ जना पीडित भएका थिए । कैलालीमा एक सय २४ महिला र ३१ बालबालिकाको अधिकार उल्लंघन भएको जनाइएको छ ।

इन्सेकले हरेक वर्ष ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ सार्वजनिक गर्दै आएको छ । केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द पाध्यायले पुस्तक सार्वजनिक गरे ।

सो अवसरमा मुख्य न्यायधिवक्ता पाध्यायले मानवअधिकारको संरक्षणका लागि सबैले आआफनो जिम्मेवारी र कर्तव्यको पालना गर्न आग्रह गरे । उनले पछिल्लो समय समाज विकृतितिर थप अघि बढिरहेको चर्चा गरे । उनले भने– अहिले बालबालिका, युवाहरू नसालु पदार्थ सेवनमा फसिरहेका छन् ।

कार्यक्रममा वक्ताहरूले बालबालिकाहरू नै अपराधिक घटनामा संलग्न हुन लागेको र बालबालिका नै पीडित हुने गरेको तर्फ सरकार तथा समाजका सबै पक्ष गम्भीर हुन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहनराज जोशी, कैलाली बार एसोसियसन कैलालीका अध्यक्ष सिद्धराज ओझा, कैलाली सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता सुर परियार, पत्रकार मनमोहन स्वार, दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

सो अवसरमा इन्सेक कैलालीका प्रतिनिधी मैनामति चौधरीलाई उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा सम्मान गरियो । उनलाई सम्मान स्वरुप सात हजार रुपैया“ तथा प्रशंसापत्र प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार