सुदूरपश्चिममा कोरोना परीक्षण दर घट्यो
धनगढी । सुदूरपश्चिम प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षण दर घटेको छ ।
सामाजिक विकास मन्त्रालयको आइतबारको अपडेट अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा कारोना भाइरस परीक्षण भएको छैन । शनिबार सेती प्रादेशिक अस्पतालमा ४५ जना र बझाङ जिल्ला अस्पतालमा २३ जनाको मात्रै स्वाब परीक्षण भएको थियो ।
सो परीक्षणमा सेतीबाट एक र बझाङबाट दुई जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसैगरी, शुक्रबार सेतीमा ५६, बैतडी अस्पतालमा ७ र डडेल्धुरा अस्पतालमा १४ जनाको स्वाब परीक्षण गर्दा तीन वटै प्रयोगशालाबाट एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको स्वाब संकलन र परीक्षण दर घटेको छ । आइतबार प्रदेशमा स्वाब परीक्षण नहुँदा शुक्रबारदेखि बाँकी रहेको ९८ जना नमुना परीक्षण भएको छैन ।
प्रदेशमा आइतबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार दुई सय १३ जना छन् । आइतबार ४० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म १२ हजार सात सय आठ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितहरु मध्ये अछाममा ७०, बैतडीमा ५४, बाजुरामा ६१, डडेल्धुरामा १२७, दार्चुलामा ६३, डोटीमा १६३, कैलालीमा २७०, कञ्चनपुरमा १३० र अन्य जिल्लाका ४८ जना छन् ।