५ पुष २०८२, शनिबार

मुक्त हलिया परिवारलाई घर बनाउन भारतको अवरोध



महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवमा भारतले तीन मुक्त हलिया परिवारलाई घर बनाउन अवरोध गरेको छ ।

सीमा क्षेत्र नजिकै दशकौंदेखि बसोबास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निमार्णमा अबरोध गरेपछि घर निमार्णको काम अधुरै रहेकाे हो । पुनः स्थापन कार्यक्रम अन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएको मुक्त हलिया परिवारलाई दुई वर्षअघि घर बनाउन सुरु गरेको भए पनि अहिलेसम्म घर निर्माणगर्न पाएका छैनन् ।

घर निर्माण सुरु गरेकै वर्ष भारतीय सीमा सुरक्षा बलले अबरोध गरेपछि रातको समयमा प्लास्टिक छानो मात्रै राखेको मुक्त हलिया परिवारकी लक्ष्मी सार्कीले बताइन् । सार्कीले घरको जग्गा निर्माणभएर पर्खाल लगाएपछि छानो हाल्ने काममा भारतीयले अवरोध गरेको बताइन् ।

“घर निर्माण गर्न लागेको महिना दिन भएको थिएन, एक्कासि भारतीय सुरक्षाकर्मी घरमै आएर घर किन लगाएको किन लगाएको भनेर धम्काउन थाले ।” लक्ष्मी सार्कीले भनिन्, “एक हातमा लट्ठी अर्काे हातमा बन्दुक देखाएर तर्साउन लागे, नेपाली पक्षसँग भन्नुस् हामीलाई दुःख नदिनुन भनेक के थिए, मारिदिउँलासम्म भन्न भ्याएनन् ।” हरेक दिनको साझ आएर आएर धम्काउने गरे पनि बल्लतल्ल पर्खाल सम्म उठाएको घरकोे छत भने हाल्न दिएको छैन ।

छत हाल्न अवरोध गरेपछि प्लास्टिक छानो मात्रै राखेर बसेको उनले बताइन् । लक्ष्मीका अनुसार भारतीय सुरक्षाकर्मीले आफूलाई सो क्षेत्र भारतको भूमि भएको भन्दै घर बनाउन रोक्दै आएका छन् । ब्रह्मदेव बजार नजिकै पर्ने मुक्त हलिया परिवारका तीनवटा घर छन् । तीनवटै घरमा भारतीय सुरक्षाकर्मीले आएर सधैँ जसो दुःख दिने गरेका छन् ।

“हाम्रो घरको अगाडि सानो स्तम्भ जस्तै एउटा सानो चिन्ह छ, भारतीय सुरक्षा कर्मीले घरको आगनमा आएर सानो चिन्हलाई देखाएर हाम्रो सीमा हो भन्दै हाम्रो जमिन खाली गर भनेर जान्छन् ।” उनले भनिन, “भारतीयको सुरक्षा कर्मीको धम्कीको बेवास्ता गर्दै जस्तापाता हालेर छानो निर्माणगरेको छौ, जस्तापाता हालेको पनि देख्ने हुन् कि भनेर माथीबाट प्लास्टिकले ढाकछेप गरेका छांै ।” लक्ष्मीका अनुसार सार्की परिवारका तिन घरमध्ये दुईवटा घरमा राती चोरेर जस्तापाता राखेपछि माथि कालो प्लास्टिकले घरको छानो छोपिएको छ ।

यस्तै बाँकी एक घरमा भने प्लास्टिकले मात्रै छाएको छ । वर्षाको समयमा प्लास्टिकको छानोबाट पानी भित्र छिर्ने र गर्मीको महिना प्लास्टिक नै तातेर पोलिएर जाने समस्या हुने गरेको लक्ष्मीले बताइन् । भारतीय सुरक्षा कर्मीले छानो राख्न नदिएपछि तिन ओटा मुक्त हलिया परिवारलाई भने अनिदोमै रात काट्नु परेको छ ।

भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिँदै आए पनि मुक्त हलिया परिवार वर्षौंदेखि बस्दै आएका जग्गा छोड्न तयार छैनन् । निर्माण गरिएको घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् । खुला ढोका भएको घरमै मुक्त हलिया परिवार बस्दै आएका छन् । “नेपाली भएर नेपाली भूमिमा नै हामीले घर निर्माण गरेका छौं , यो क्षेत्रबाट हटेर जाने अवस्था पनि छैन ।” मुक्त हलिया परिवारका अर्का सदस्य खडक सार्कीले भने, “झण्डै तीन दशकभन्दा बढी यसै ठाउँमा बसोबास गरेको भयो, विगतका वर्षमा भारतीयहरूले केही नभन्ने तर घर बनाउँदा मात्रै हाम्रो हो भन्ने, अहिले आएर भारतीय पक्षले जग्गा छोड्न दबाब दिँदै आएका छन् ।”

सो क्षेत्र नजिकै ब्रह्मदेवमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको झण्डै एक वर्ष भएको छ । सशस्त्र प्रहरी आए पनि कोरोना महामारी पनि सुरु भयो त्यसपछी भने अहिलेसम्म भारतीय सुरक्षाकर्मी नआएको उनले बताए । उनका अनुसार भारतीय सुरक्षा कर्मीले आफूहरूमाथि थिचोमिचो गर्दै आएको बताए । कुनै बेला सीमानाको बहाना बनाएर धम्काएर जाने र कुनै बेला भने गस्तीको नामले घरमै पसेर धम्काएर जाने गरेको खडक सार्कीको भनाइ छ ।

“समय–समयमा विभिन्न बहाना खोज्दै भारतीय सुरक्षाकर्मीको टोली हालहतियार सहित घरमै पुग्छ, बेलाबेला धम्काउने तर्साउने जस्ता कार्यहरू गरेर जाने गर्छन् ।

टनकपुर बाँधको साङ्केतिक चिन्ह्लाई सीमा भनेर नेपाली भूमि मिच्दै भारत

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार स्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको टनकपुर बाँधको साङ्केतिक चिन्ह्लाई भारत सीमा स्तम्भ भन्दै आएको छ । सन् १९९१ म टनकपुर बाँध निर्माणगर्ने बेलामा भारतीय पक्षले बाँधका लागि आवश्यक क्षेत्र भनेर निर्माणगरेको चिन्ह्लाई भारतले सीमा स्तम्भ बताउँदै नेपाली भूभाग मिचेकोे भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले बताए । साङ्केतिक चिन्ह्लाई भारतले आफ्नो सीमा क्षेत्र बताउँदै साङ्केतिक चिन्ह् भएको क्षेत्रका तिन ओटा घर निमार्णमा पनि रोक लगाएको छ ।

“सन् १९९१ मा भारतले टनकपुर बाँध निर्माणगर्ने बेलामा भारतले नेपालको ३ नम्वर सीमा स्तम्भ डुब्ने गरी टनकपुर जलविद्युत परियोजना निर्माणगरेको थियो ।” वडाध्यक्ष नाथले भने, “बाँध निर्माणगर्ने बेलामा बाँध निर्माण गर्नुपर्ने क्षेत्रहरूमा साङ्केतिक चिन्ह् पनि बनाएको थियो, पछि गएर नेपाली ३ नम्वर सीमा स्तम्भ महाकालीमा डुबेर बेपत्ता समेत भयो, अब अहिले आएर भारतीय पक्षले नहर निर्माणगर्नको लागि बनाइएको साङ्केतिक चिन्ह्लाई आफ्नो भुभाग भन्दै आएको छ ।”

काराेबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार