डिलासैनीको केन्द्र नसार्न माग
धनगढी । बैतडीको डिलासैनी गाउँपालिका जनप्रतिनिधीहरुले गाउँपालिका केन्द्रको विषयलाई लिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गरेका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमै पुगेर उनीहरूले मुख्यमन्त्री मार्फत सङ्घीय सरकारलाइ पनि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

राज्य पुनर्संरचना हुने बेला गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएकोमा अहिले उल्ट्याउने प्रयास भएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्तिक १९ गते डिलासैनी गाँउसभाको सातौँ अधिवेशनबाट भएको निर्णय विवादित रहेको र स्थानीय तह बाट नै विवादको निरूपण गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रावधान अनुसार प्रक्रिया अगाढी बढाउन प्रदेश कार्यालय मार्फत गाउँपालीकालाइ परिपत्र गर्ने भनिएता पनि प्रदेश सरकारले उक्त परिपत्र गाँउपालीका नपठाएर सङ्घीय सरकार लाई नै फिर्ता पठाएको भन्दै मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गरिएको वडा नम्बर ७ का अध्यक्ष प्रेम सिंह धामीले बताए ।
वडा नम्बर ७ भित्रै वडा गाउँपालीकाको केन्द्र तोकिनु पर्ने माग गर्दै हामीले मुख्यमन्त्री मार्फत सङ्घीय सरकारको पनि ध्यानाकर्षण गराएका छौ,वडा नम्बर ५ का वडाध्यक्ष मान बहादुर बोहराले भने,‘अन्य कुनै पनि निर्णय हामीलाई मान्य हुँदैन। वडा नम्बर ७ मै केन्द्र नतोकिए हामी कडा आन्दोलनमा उत्रिन्छौ।’
विगतमा कार्यपालिका बैठकबाट डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएर जग्गा व्यवस्थापनको प्रक्रिया समेत पूरा भइसकेको अवस्थामा चलखेल गर्दै केन्द्र सार्न खोजिएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष हरिदत्त पन्तले आपत्ति जनाए ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गाँउपालीकाको केन्द्र सार्ने विषयमा सङ्घीय सरकार लाई सिफारिस गर्ने काम मात्रै भएको बताए । उनले भने,‘प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय सङ्घीय सरकारको कुनै मन्त्रीले काट्न निल्दैन कानुनले त्यो दिँदैन त्यसैले हामीले केन्द्र सरकार लाई पत्र फिर्ता गरिएको हो।’
उनले थपे,‘यो हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन सङ्घीय सरकारको निर्णय हो । म अहिले नै प्रधानमन्त्री कार्यालयमा यो ध्यानाकर्षण पत्र पठाइदिन्छु ।’




