३० बैशाख २०८१, आईतवार

कैलालीमा भन्सार र राजश्व कार्यालयमा लक्ष्यभन्दा धेरै राजश्व असूली



टीकापुर । कैलालीस्थित भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्य भन्दा धेरै राजश्व उठाउन सफल भएका छन् ।

कैलाली भन्सार कार्यालयमा आ.व. २०७७/७८ को साउनमा ४८ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य राखिएकोमा ५८ करोड रुपैया उठेको भन्सार अधिकृत डिल्लीराज शर्माले जानकारी दिए । ‘राजश्वको ६० प्रतिशत पेट्रोलियम पदार्थबाट उठेको छ । लामो समय लकडाउनले गर्दा रोकिएको आयात बढेकाले राजश्व २० प्रतिशतले बढेको हो,’ भन्सार अधिकृत शर्माले भने, ‘यही अवधिमा चामल, गहुँ, पापड भुजिया, दालमोठ जस्ता खाद्य बस्तुको अयात अधिक छ ।’

कैलालीपछिको दोस्रो ठूलो भन्सार सत्ती भन्सार कार्यालय खक्रौलामा साउनको राजश्व लक्ष्य भन्दा पाँच सय ७५ प्रतिशत बढी असूली भएको छ । सत्ती भन्सारले साउनका लागि ३६ लाख ३९ हजार रुपैया राजश्व उठाउने लक्ष्य राखेमा दुई करोड नौ लाख १४ हजार रुपैया संकलन भएको भन्सार प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए ।

‘भन्सार छली, चोरी पैठारी कम भएको छ, दुई किलोमिटरमा सशस्त्र प्रहरी र भन्सारमा २४ सै घण्टा नेपाल प्रहरीको निगरानीले राजश्व संकलन बढेको हो’, भन्सार अधिकृत चौरसिया भन्छन, ‘लकडाउनका कारण सीमा आवतजावत बन्द भएको र प्रशासनसंगको राम्रो समन्वय हुँदा लक्ष्य भन्दा अधिक राजश्व संकलन संभव भयो ।’ दुई वर्ष अघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरीमा पाँच करोड ८० लाख सात हजार मात्रै राजश्व उठाएको थियो । यस वर्ष छ करोड सातको लक्ष्य राखेको छ । यसपटक कपडा, मोटर पार्टस र हार्डवेयरका सामान धेरै आएकाले राजश्व बढेको र प्रहरी प्रशासनको यस्तै सहयोग रहेमा तीन महिना मै वार्षिक लक्ष्य पूरा हुने भन्सार अधिकृत चौरसियाको भनाई छ ।

यस्तै आन्तरिक राजश्व कार्यालय कैलालीले पनि साउन महिनामा लक्ष्य भन्दा २६ प्रतिशत बढी राजश्व उठाएको छ । साउनका लागि ५५ करोड २१ लाख ८२ हजार लक्ष्य राखेकामा ६९ करोड ५२ लाख ७८ हजार रुपैया राजश्व संकलन भएको प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार