७ कार्तिक २०८१, बुधबार

रोटा विरुद्धको खोप अभियान सञ्चालन



धनगढी । सुदूरपश्चिम प्रदेशमा नियमित खोप अन्तर्गत रोटा भाइरस विरुद्धको खोप खुवाइने भएको छ । बिहीबार एक कार्यक्रमबीच प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी र सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले दुई शिशुलाई खोप खुवाएर रोटा खोपको सुरुवात गरे ।

मन्त्री सुबेदी र मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले छ साता पुरा भएका दुई शिशुलाई रोटा भइरस विरुद्धको खोप खुवाएका थिए । नियमित खोप सेवामा रोटा खोप तथा सरसफाई प्रवद्र्धनको शुभारम्भ कार्यक्रम अन्तर्गत धनगढीमा रोटा खोपको सुरुवात गरिएको जनाइएको छ ।

अभियानको आरम्भ गर्दै मन्त्री सुवेदीले मन्त्रालयलाई आलोचना र गुनासोरहित बनाइने प्रतिवद्धता व्यक्त गरे । ‘हामी मन्त्रालयलाई गुनासो, आलोचना, विभेद उन्मुक्त बनाउन चाहन्छौं’ मन्त्री सुवेदीले भने– ‘तपाईं कर्मचारीहरू पनि तोकिएको स्थानमा गएर काम गरिदिनुहोस् । सरुवा र बढुवामा कुनै पनि विभेद गर्दैनौं । मन्त्रालयमा आर्थिक अनियमितता पनि हुन दिन्नौं ।’

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा वर्षेनी ६२ हजार बच्चा जन्मने गरेको बताए । उनले भने– रोटा खोप पहिलो पटक ६ साता पुरा भएको शिशु र दोस्रो पटक १० सातामा खुवाइने छ । उनले प्रदेशका नौ वटै जिल्लाको एक हजार आठ सय खोप केन्द्रबाट खोप खुवाइने बताए ।

निर्देशक डाक्टर अवस्थीले भने– खोप खुवाउन ठुलो कुरा होइन । यसको गुणस्तर कायम गर्न चुनौति हो ।

उनले स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू समयमै उपलब्ध गराइनुपर्ने माग गर्दै भने– आवश्यक सामग्रीका लागि आर्थिक, जनशक्ति लगायतको आवश्यकता मन्त्रालयले पुरा गर्नुपर्नेमा ध्यान दिनुपर्छ ।

युनिसेफ नेपालगञ्जका कार्यालय प्रमुख दीपक श्रेष्ठले रोटा खोपले कडा खालको झाडापखालाबाट हुने बाल मृत्युदरमा कमी ल्याउने विश्वास व्यक्त गरे । उनले रोटा खोप खुवाउनेसंगै सरसफाईका अभियानहरू पनि सञ्चालन गरिने बताए ।

स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डाक्टर भुषण मिश्रले रोटा खोप बारे जानकारी दिँदै नेपालमा आठ प्रतिशत झाडा पखालाका कारण बालबालिकाको मृत्यु हुने गरेकोमा एक तिहाइ बालबालिका रोटा भाइरसकै कारण हुने गरेको जानकारी दिए ।

उनले अहिलेसम्म विश्वका ९० देशमा रोटा खोप सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार