७ कार्तिक २०८१, बुधबार

२४ घण्टाको मन्दिर बासपछि अस्पताल भर्ना, सेतीमा बेड अभाव



धनगढी । कैलालीको गौरिगंगा नगरपालिकाका पाँच जनामा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि गर्यो । कोरोना पुष्टि भए लगत्तै गौरिगंगा नगरपालिकाले ती व्यक्तिहरूलाई आइसोलेसनमा राख्नका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको थियो । तर, अस्पतालले भर्ना लिएपछि उनीहरूलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक मन्दिरको हलमा राखियो ।

सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पतालमा वेड अभाव भएपछि उनीहरूलाई भर्ना नगरी फिर्ता गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नै सुदूरपश्चिममा थप २७ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । तीमध्ये कैलालीका १०, कञ्चनपुरका आठ र अछामका नौ जना रहेका थिए । कैलालीको टीकापुरमा चार, गौरिगंगा नगरपालिकाका पाँच र धनगढी उपमहानगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टीकापुरमा थपिएका चार जनालाई टीकापुर अस्पतालको आइसोलेसन र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको भए पनि गौरिगंगा नगरपालिकाका कोरोना संक्रमितलाई भने मन्दिरको हलमा राखिएको जनाइएको थियो ।

गौरीगंगा नगरपालिका प्रमुख भीमवहादुर देउवाले कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालले वेड अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएको बताए ।

उनले भने– पाँच नयाँ संक्रमित मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ । ज्वरो आउने, खोकी लाग्ने र बान्ता समेत भइरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरेनन् ।

२४ घण्टा मन्दिरको हलको बासपछि उनीहरूलाई बुधबार महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । गौरिगंगाका पाँच जना संक्रमितसंगै बुधबार पुष्टि भएका दुई पुरुषलाई पनि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरि श्रेष्ठले बताए । उनका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा १५ जना राखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ७८ जना संक्रमित मध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । हालसम्म संक्रमितमध्ये एक जनाको मृत्यु भईसकेको छ , त्यस्तै, हालसम्म आठ जना निको भएर डिस्चार्ज भईसकेका छन । सात जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका हुन भने एक जना प्रदेश बाहिर डिस्चार्ज भएका हुन् ।

सबैभन्दा बढी कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका ७, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

सेतीको आइसोलेसनमा बेड अभाव

सुदूरपश्चिममा धमाधम कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालका आइसोलेसनमा बेड अभाव हुन थालेका छन ।

सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पतालमा आइसोलेसन बेडको संख्या भन्दा पनि बढी संक्रमित भर्ना गर्नुपरिरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा २४ वेडको आइसोलेसन रहेकोमा २६ जना संक्रमित राखिएका छन । १० बेडको आइसोलेसन रहेको महाकाली अस्पतालमा १५ जना भर्ना गरिएको छ भने १२ बेडको आइसोलेसन रहेको टीकापुर अस्पतालमा १३ जना रहेका छन । अब यी अस्पतालमा थप विरामी राख्न सक्ने अवस्था नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्टहरू बताउँछन ।

मंगलबारमात्रै सेतीले पाँच जना कोरोना संक्रमितलाई फिर्ता गरेको थियो । महाकाली अस्पतालले पनि बुधबार जसोतसो आइसोलेसनमा संक्रमितको व्यवस्थापन गरेको छ ।

आइसोलेसनमा बेड थप्दै तीन अस्पताल

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक र महाकाली अस्पतालमा प्रि–फ्याव प्रविधिमार्फत कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार सेती कोभिड अस्पताल भवन निर्माण भइ भवन हष्तान्तरण गरिसकेको छ भने महाकालीको भवन निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ ।

सेतीको भवन हष्तान्तरण भएपनि आइसोलेसन भने सञ्चालनमा आउन सकेको छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भवन हष्तान्तरण भएपनि उपकरण, मर्मत सम्भार लगायतका काम पूर्ण हुन नसकेको बताए ।

उनले भने –‘उपकरण जडान, विद्युतिकरण, खानेपानी जडान, फर्सिङ, सरसफाई व्यवस्थापन लगायतका कामहरू बाँकी थियो ।’ उनले एक÷दुई दिनमा आइसोलेसन सञ्चालनमा आउने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले ९४ लाखमा दुई अस्पतालमा ५० वेडको आइसोलेसन बनाउने निर्णय गरेको थियो । सूचना अधिकारी श्रेष्ठले भने –‘५० वेडको आइसोलेसन भनिएको भएपनि सरकारको मापदण्ड अनुसार कोभिड अस्पतालमा ४० वेडमात्र व्यवस्थापन हुने छ ।’

यस्तै टीकापुरमा ३० वेडको आइसोलेसन सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ । पाँच वटा स्थानीय तहको संयूक्त पहलमा ३० वेड थप गरिन लागेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनले भने –‘भवनको व्यवस्थापन भइसकेको छ । उपकरण, बेड लगायतको व्यवस्थापन पछि आइतबारदेखि आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशभरीका १६ वटा अस्पतालमा एक सय ८० बेडको आइसोलेसन रहेको छ । जसमा सेतीमा २४, जिल्ला अस्पताल बझाङमा २५, अछाममा १७, डडेल्धुरा, वयलपाटा, जिल्ला अस्पताल दार्चुलामा १३/१३, जिल्ला अस्पताल बाजुरा, टीकापुर अस्पतालमा १२/१२, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटीमा १०/१०, जिल्ला अस्पताल बैतडी, जोगबुडा अस्पतालमा आठ/आठ, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार/चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वेडको आइसोलेसन रहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा १४ वेडको आइसियू र आठ बेडको भ्यानटिलेटर रहेको छ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले २५ जना उपचाररत छन । अस्पतालमा २४ वेडको आइसोलेसन राखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले २४ शैयाको आइसोलेशनमा २५ जना संक्रमितलाई राखिएको बताए । उनले भने –‘थप संक्रमितको तत्काल व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’

सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार