५ कार्तिक २०८१, सोमबार

प्रदेश सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ कोे नीति तथा कार्यक्रममाथि बुधबारदेखि छलफल शुरु भएको छ ।

प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबारको प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव गरेपछि प्रदेश सभाले सो प्रस्ताव पारित गरेर छलफल शुरु अपघ बढेको छ ।


छलफलमा भाग लिएका सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसद्हरुले नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमहरु बजेट राख्न सुझाव दिए ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गोविन्द बोहराले नीति र कार्यक्रममा निर्यातमुखी कृषि कार्यक्रम सञ्चालन बारे उल्लेख हुनुपर्ने बताए । उनले वित्तीय समानताका लागि कार्यक्रम आउन नसकेको भन्दै सरकारले स्वरोजगार सिर्जनामा बढि ध्यान दिनुपर्ने बताए । प्रदेश सभा सदस्य बोहराले लिपुलेक, कालापानीमा बस्ने नेपालीका साथै सीमा क्षेत्रमा बसोबास गर्ने सबै जनताको आयआर्जन बढ्ने खालका विशेष खालका प्याकेज कार्यक्रम ल्याउन सुझाव दिए । उनले सरकारले कालापानी, लिपुलेक हुँदै मानसरोबर जाने बाटो निर्माणमा ध्यान दिनुपर्ने बताए ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका अर्का प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले आर्थिक वर्ष २०७४/७५ कै नीति तथा कार्यक्रमबाट मुक्त कमैया, मुक्त कमलरी र मुक्त हलियाको अवस्था अध्ययन, विद्युत आयोजना अध्ययन, दलित समुदायको पेशालाई व्यसायीकरण गर्ने जस्ता कार्यक्रम निरन्तर रहेको चर्चा गर्दै त्यस्ता खालका कार्यक्रमको मोडालिटी परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले कोभिड–१९ को जोखिम रहेको बेला स्वयंसेवक परिचालन कार्यक्रमलाई निरन्तरता दिन नहुने बताए । उनले सो कार्यक्रम नितान्त राजनीतिक कार्यकर्ता भर्ना गर्ने कार्यक्रम रहेको दावी गरे ।

प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् कृष्णबहादुर चौधरीले विगतमा पनि नीति तथा कार्यक्रमका केही कार्यक्रम राम्रा भए पनि कार्यान्वयन नहुँदा प्रगति नभएको बताए । उनले कविताको शैलीमा धारणा व्यक्त गर्दै प्रदेश सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन गर्न नसकेको विषयमा व्यंग्य गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक अक्कलबहादुर रावलले कुनै पनि बहानामा ल्याएको कार्यक्रम कार्यान्वयन गर्नबाट पछि हट्न नमिल्ने बताए । उनले कर्मचारी अभाव, कोभिड–१९ र प्रदेश सरकारको मातहतको कार्यालय नभएकाले कार्यान्वयन हुन सकेन भन्ने सुन्ने झन्झट सदाका लागि अन्त्य गर्न सुझाव दिए । उनले करारमा भए पनि कर्मचारी भर्ना गरी कार्यालय स्थापना गरी कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिए ।

सत्तारुढ नेकपाका अर्का प्रदेश सांसद् लिलाधर भट्टले व्यास नगरपालिकाका जनताका लागि विशेष प्याकेज कार्यक्रम, ‘एक विद्यालय एक नर्स र एक योग गुरु’, ‘प्रदेशका गाउँ, उज्योलो बनाउँ’, ‘जलस्रोतमा लगानी, जनताको आम्दानी’, कृषकसंग कृषि विद्यार्थी’, ‘नमुना गाउँ, आफै बनाउँ’, ‘रोगबाट बचाऔं, भोकबाट जोगाऔं’ जस्ता कार्यक्रम उपयुक्त भएको टिप्पणी गरे । उनले खप्तड, अपि साइपाल जस्ता पर्यटकीय क्षेत्रमा विमानस्थल बनाउन सक्ने सम्भाव्यता अध्ययन गर्न आवश्यक रहेको सुझाव दिए ।

नेकपाका अर्का प्रदेश सांसद् शान्ति नेपालीले ‘एउटै दृष्टि समदृष्टि’, ‘मेरो विशेषज्ञता मेरै प्रदेशका लागि’ जस्तो कार्यक्रम राम्रो रहेको र विगतका ल्याइएका, तर कार्यान्वयन हुन नसकेका योजनाहरु यस वर्ष पुरा गर्न सुझाव दिइन् ।

प्रदेश सभाको बुधबारको बैठकमा नेकपाका सांसद् बलबहादुर रेग्मी, रतनबहादुर थापा, मानबहादुर धामी, देवकी मल्ल, नन्दबहादुर साउँद तथा नेपाली कांग्रेसका सांसद् श्यामलाल रानाथारुले छलफलमा भाग लिएका थिए ।

प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई धन्यवाद दिने प्रस्ताव समेत पारित गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले धन्यवाद दिन प्रस्तुत गरेको प्रस्तावको समर्थन नेकपाका सांसद् विरमान चौधरीले समर्थन गरेका थिए ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको बाँकी छलफल आज (बिहीबार) बिहान ८ बजे बस्ते प्रदेश सभाको बैठकममा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार