६ कार्तिक २०८१, मंगलवार

परिणाम दिन्छौ,कामको विज्ञापन गर्देनौ मुख्यमन्त्री भट्ट



धनगढी, चैत २४ गते । सुदूरपश्चिम प्रदेश कोरोना भाइरस ( कोभिड १९) को चपेटमा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा संक्रमण देखिएको छ । ती मध्ये दुई जना भारतबाट र एकजना संयुक्त अरब इमिरेट (यूएई) को दुवईबाट आएका हुन । भने एक जनालाई दुवईबाट आएकाले सारेको देखिन्छ ।
फागुन अन्तिम सातादेखि अहिलेसम्म भारतबाट मात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर एक लाख ४३ हजार नेपालीहरु घर फर्किएका छन् ती मध्ये प्राय सबै सुदूरपश्चिमकै हुन । त्यसलै देश बाहिरबाट आउनेहरुबाट कोरोना भाइरस फैलिन नदिनका लािग स्थानीय तहमा क्वारेन्टाइनहरु बनाइएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बताउछन् ।
म आफैले कतिपय ठाउँमा क्यारेन्टाइन राख्ने ठाउँ खोजे, आवश्यक पर्ने पक्षहरुसंग नियमित छलफल गरेर आवश्यक निर्देशन दिइरहेको छु, कामको अनुगमन गरिरहेको छु मुख्यमन्त्री भट्टले भने, तर पनि केहीले प्रदेश सरकार र म माथि सामाजिक सञ्जालबाट आक्रमण गरिरहेका छन् , म आवश्यक काम गरिरहेको छु तर विज्ञापन गर्न आवश्यक ठान्दिन । यो आक्रमण सर्वहारा वर्गको नेतृत्वमाथिको आक्रमण हो ।
हामी आक्रमणबाट आत्तिएका छैनौ,भ्रामक प्रचारको विश्वास नगर्न सुदूरपश्चिमवासीलाई अनुरोध गर्दछु । हामीले परिणाम निकाल्ने गरेर काम गरिरहेका छौ त्यसैले मेरो प्रदेशवासीलाई आग्रह छ लकडाउन पालना गरौ । देश वाहिर वा देश भित्रैबाट पनि गाउँ वस्ती पुगेलाई अनिवार्य क्वारेन्टाइनमा राखौ । क्वारेन्टाइनमा बस्न नचाहनेलाई वस्न प्रेरित गरौ । सामाजिक दूरी कायम राखौ । रोग नलुकाऔ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संक्रमितको हौसला बढाउने काम गरौ । हामीले निश्चित मापदण्ड पुरा गर्न सक्यौ भने कोरोना मुक्त समाज बनाउन सक्नेछौ । कोरोना भाइरस नियन्त्रण तथा उपचारमा सम्पूर्ण प्रदेशबासीको सहयोगका लागि अपिल पनि गर्दछु ।

क्वारेन्टाइन सञ्चालनको अवस्था ः खास गरेर भारतबाट वा अन्य मुलुकबाट आएकालाई लक्षित गरेर नौ वटै जिल्लाका प्राय सबै स्थानीय तहमा क्वारेन्टाइन बनाइएको छ । ती ठाउँमा नेपालकै अन्यत्रबाट आउनेलाई समेत राख्ने गरिएको छ । क्वारेन्टाइनलाई प्रभावकारी बनाउन पटकपटक छलफल गरेका छौ । नौ वटै जिल्ला समन्वय समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी, स्वाथ्य अधिकारी समेतलाई राखेर प्रत्यक्षरुपमा भिडियो कन्पे्रmन्स पनि गरिएको छ । क्वारेन्टाइनमा आधारभूत सेवाको व्यवस्था गरिएको छ । खुलामञ्च, खेलकूद क्षेत्र लगायतका सार्वजनिक स्थानमा क्वारेन्टाइनका लागि ठाउँ हेरिएको छ । धनगढीको खेलमैदान र भवनमा त क्यारेन्टाइन तयार अवस्थामा छ ।
आइसुलेसनको व्यवस्था ः अहिले हामीसंग धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा २३ वेड आइसुलेशन कक्ष छन् । महाकाली अस्पताल भीमदत्तनगरमा पनि १५ वेड छन् । नौ वटै जिल्लामा जतासुकै कोरोना संक्रमित भेटिए पनि सेतीमै ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ । त्यसअनुसार कैलालीका तीन र कञ्चनपुरको एक गरेर चार कोरोना संक्रमितको उपचार सेतीमा भइरहेको छ । सेतीमा अहिले एउटा मात्रै भ्यान्टीलेटर छ । तीन वटा थप्ने प्रक्रिया अघि बढेको छ । हामी अझै थपौ भन्नेमा छौ ।
परीक्षणको उपकरणको अवस्था ः अहिले संघीय सरकारले पठाएको उपकरणबाट कोरोना संक्रमण हो कि होइन भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ । त्यो उपकरणबाट एकपटक परीक्षण भइसकेको छ अव त्यसले पनि गति लिने छ । त्यो उपकरण पनि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । थप तीन वटा उपकरणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले टेण्डर गरिसकेको छ । ती तीन उपकरण धनगढीको स्वास्थ्य कार्यालयको भवन, बैतडी र डोटीको जिल्ला अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौ । हामीले सेतीका साथसाथै डोटी र बैतडी अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा विकास गर्न खोजिरहेका छौ ।
राहत कोष ः प्रदेश सरकारले आफैले ४० करोडको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेका छौ । त्यसमा मन्त्री, सांसदहरु, बैक सहितका जनस्तरबाट समेत गरेर थप ५७ लाख सहयोग जम्मा भइसकेको छ । हामी उपचारका लागि रकम अभाव हुन दिदैनौ, प्रदेशवासीले ढुक्क हुँदा हुन्छ । यसैवीचमा हामीले कारोना रोग नियन्त्रण र व्यवस्थापनको लागि ११ करोड ५० लाख रुपियाँ विनियोजन गरिसकेका छौ । कारोनामै काम गर्नका लागि ८८ वटा स्थानीय तहलाई तीन करोड शसर्त अनुदान पनि दिएका छौ । त्यसमध्ये पाँच लाख उपमहानगरपालिकालाई, चार लाख नगरपालिकाहरुलाई र तीन लाखका दरले गाउँपालिकालाई अनुदान दिइएको छ । मजदूर सहितका काम गरेर खाने वर्गको खातामा राहत पठाउन खोजिरहेका छौ त्यसका लागि तथ्यांक संकलन पनि भइरहेको छ । खाता नभएका निक्कै विपन्न, वेसाहारहरुलाई खाद्यान्न सामाग्री वितरण पनि गरिरहेका छौ ।
सीमामा अलपत्र नेपाली बारे ः म भारतमै बसेर काम गरेर आएको मान्छे हुँ । त्यसैले पनि मलाई भारतमा काम गर्नेका पीडा र समस्या राम्ररी थाहा छ । सीमा क्षेत्रमा नेपालीको हालत देख्दा दुखित छु । यतिवेला प्रदेश सरकारले गर्दा सीमामा धेरै अलपत्र परे भन्ने आरोप लागि रहेको छ । सबैलाई थाहा छ सीमा खोल्ने वा वन्द राख्ने भन्ने अधिकार संघीय सरकारसंग छ । तर पनि हामीले संघीय सरकारलाई अनुरोध गरेर धेरैलाई नेपाल आउने व्यवस्था गरेका छौ । अझै पनि सीमापारी रहेकालाई नेपाल ल्याउन प्रयास गरिरहेका छौ ।
खाद्यान्न र औषधिको अवस्था ः लकडाउन बढेर गएपछि पनि हाम्रो प्रदेशलाई खाद्यान्न र औषधिको अभाव हुने स्थिति छैन् । तर पनि यथार्य अवस्था पत्ता लगाउदौ छौ । त्यसपछि केही अपुग हुने भएपछि तत्कालै औषधि र खाद्यान्नको जोहो गरिने छ ।
आर्थिक पारदर्शीता ः कोरोनामा काम गर्दा खरीदका काम हुन्छन् नै त्यसैले खरीद नियमावली अनुसार काम गर्न र पारदर्शीता अपनाउन सम्वन्धित सबैलाई निर्देशन दिएको छु । गल्ती गरे कार्वाही हुन्छ भन्ने कुरा पटकपटक भनिएको छ । (कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार