२७ पुष २०८१, शनिबार

भारी हिमपातपछि खाद्यान्न अभाव



बझाङ । पटकपटकको हिउँदे वर्षा र हिमपातसंगै बझाङका उच्च लेकाली भेगका गाउँबस्तीको जनजीवन प्रभावित भएको छ । पटकपटकका हिमपातपछि गाउँसम्मका सडकमार्ग अवरुद्ध भएका छन् । हिमपातका कारण साईपाल गाउ“पालिकाबाट सदरमुकामसम्मको मार्ग कठिन भएको छ । सडकमा बाक्लो हिउँ जमेका कारण खच्चड तथा भेडाहरू रुपातोला र तलकोटबाट अगाडी जान सकेका छैनन् ।
सदरमुकाम चैनपुरबाट पाँच दिनको पैदल दूरीमा रहेको साईपाल गाउँपालिकाको केन्द्र काँडागाउँमा माथिल्लो धुलीबाट पनि आवागमन अवरुद्ध भएको छ । त्यस्तै, धलौनगाउँदेखि गाउँपालिका केन्द्रसम्मको सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । हाल चैनपुरमा रहेका साईपाल गाउँपालिका वडा नम्बर ४ धुलीजगेराका राजु रोकायाले भने– घर जाउँ भने बाटोमा धेरै हिउ परेको छ । घर जान नसकेर दुई सातादेखि यही थन्किएको छ । राजुजस्तै काम विशेषले सदरमुकाम चैनपुर आएका धुलीकाँडाका अरु व्यक्ति पनि हिउाका कारण रोकिएका छन् ।
पटकपटकको वर्षा र हिमपातका कारण तलकोट गाउँपालिकाको खौलादेखि साईपाल गाउ“पालिका जाने बाटोमा पर्ने कुवा, जाडलेक, धलौन लाग्ना, काकरकोट, काँडा, काया, बलौडी, धुली तथा सेती नदी पारीका न्युनामा पनि चारपाँच फिटको हिउ जमेको स्थानीयले बताएका छन् ।
रुपातोला र खौलाबाट साईपाल गाउँपालिकाका लागि खाद्यान्न सामग्री बोक्ने खच्चडहरू पनि दुईसातादेखि माथिल्लो भेगमा जान सकेका छैनन् । करिब २० दिनदेखि ढुवानी नहुँदा साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । स्थानीयका अनुसार अहिले साइपालमा मोटो चामलको मुल्य प्रतिकेजी एक सय ८० रुपैयाँ पुगेको छ । त्यस्तै, एक लिटर खानेतेलको मूल्य तीन सय रुपैयाँ पुगेको छ ।
साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले वर्षा र हिमपातका कारण बाटोघाटो अवरुद्ध भएका कारण स्थानीयले निकै कष्ट भोग्नु परेको बताए । उनका अनुसार चार दिनअघि मौसम केही सफा भएपछि खच्चडहरू धलौनसम्म पुगे पनि फेरी वर्षा र हिमपात भएपछि पुनः बाटो अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार