मोटरबाटो पुगेपछि सुन्तलाको भाउ बृद्धि
मुकेश टेंर्रा/धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ खैरालासम्म मोटरबाटो पुगेपछि यसपाली सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मुल्य पाएका छन् ।
मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए । गत वर्ष चौमालामा प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपाली बारीबाटै प्रतिकिलो ८५ रुपैयाँका दरले सुन्तला बिक्री गरिरहेका छन् ।
खैराला गर्भाका किसान गणेश चन्दले गत वर्ष बढिमा प्रतिकिलो ५० रुपैयाँ मुल्य पाएको बताए । उनले यसपाली गाउँमै व्यापारी आएर ८५ रुपैया“का दरले सुन्तला खरिद गरेको बताए । “गत वर्ष चौमालाबजार पुर्याएर पनि ३० देखि ५० रुपैयाँका दरमा सुन्तला बेचेका थियौं” उनले भने– यसपाली बारीमै आएर व्यापारीले ८५ रुपैयाँमा खरिद गरेर लगे ।
सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने सुन्तलामध्ये खैरालाको सुन्तला निकै स्वादिलो मानिन्छ । धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले एक सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मुल्य प्रतिकिलो एक सय ५० रुपैयाँ रहेको छ ।
गत बुधबारदेखि खैरालाको गर्भासम्म जीप चल्न थालेको स्थानीय गगनसिंह रजवारले बताए ।
गर्भा दरबारभन्दा एक किलोमिटर तल कटाैंजेसम्म एक महिना अघिदेखि जीप चल्न थालेको थियो । गत असारमा २८ लाख रुपैयाको लागतमा गर्भासम्म सडक ट्रयाक खोलेको चुरे गाउँपालिकाले दशैंपछि थप १० लाख रुपैया खर्च गरेर बाटो सफाई गरेको छ ।
खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि खैरालाका किसानहरुलाई सुन्तला लगायतका कृषि उत्पादन बजारमा पठाउन सजिलो भएको छ । खैरालाबाट सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यु लगायतका उत्पादन धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको स्थानीय प्रकाश गुरुङले बताए ।
गौरीगंगा नगरपालिका वडा नम्बर ३ झिलदेखि गर्भादरबार हु“दै खैराला–शिवनगर मोटरबाटो २०६५ मा शिलन्यास भएको थियो । साविक कैलाली जिल्ला विकास समितिले झिलदेखि गर्भासम्मको १९ किलोमिटर सडकमध्ये १२ किलोमिटर ट्रयाक खनेको थियो । गत वर्ष चुरे गाउ“पालिका र सुदूरपश्चिम प्रदेश सरकारको ५०÷५० लाख रुपैया समेत एक करोड रुपैयाको बजेटमध्ये ३९ लाख रुपैयामा टेण्डर पारित भएको थियो । टेण्डर पाएको चुरे निर्माण सेवाले समय अभावको कारण २८ लाख रुपैयाको मात्रै काम गर्न सकेको चुरे गाउँपालिकाका प्राविधिक शाखा प्रमुख चन्द्रदेव भट्टले बताए ।
बाटो पुगेपछि गर्भामा पर्यटक आउने आशा
चुरे गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष समेत सो सडकका लागि ५०/५० लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् । गर्भाबाट सो सडक अझै अगाडि पुर्याउनका लागि टेन्डर आव्हान गर्ने तयारी भइरहेको चुरे गाउ“पालिकाका अध्यक्ष धनबहादुरा रोकामगरले बताए । गाउँपालिकाको पहिलो लक्ष्य नै वडा केन्द्रसम्म मोटरबाटो पु¥याउने रहेको बताउँदै उनले मोटरबाटो नपुगेको वडा नम्बर २ मा पनि यसै वर्ष सडक सञ्जाल जोड्ने गरी काम अगाडि बढाइने बताए ।
गर्भा दरबारसम्म बाटो पुगेपछि ऐतिहासिक महत्व बोकेको गर्भा दरबार संरक्षण र त्यहाँ पर्यटन प्रवद्र्धनको सम्भावना बढेको स्थानीयको भनाई छ । बिक्रमसम्वत १९८४ मा बहादुर समशेर राणाले कैलाली र डोटी आवतजावत गर्दा बास बस्ने गरी बनाएको गर्भा दरबार संरक्षणको अभावमा खण्डहर बनेको छ ।
एक जर्ना गर्भवति महिला युद्धमा श्रीमान् मारिएपछि प्राण रक्षाका लागि खैरालामा बस्न आएको हुनाले त्यस क्षेत्रको नाम गर्भा राखिएको बताइन्छ । उनै महिलाले चर्चेको जमिन र बनाएको देवीको थान कब्जा गरेर बहादुर समशेरले गर्भा दरबार बनाएका थिए ।
बहादुर समशेरका छोरा तेजप्रकाश धेरै पछिसम्म दरबारको रेखदेखमा आउने गरेको शिक्षक नारायण योगीले बताए । उनका अनुसार पञ्चायतकालमा सो दरबार पञ्चायतको नाममा सरुवा गरी पञ्चायत कार्यालय राखिएको थियो । “पञ्चायतपछि गर्भा दरबारमा लामो समयसम्म विद्यालय सञ्चालन भयो’ शिक्षक योगीले भने– मैले पनि लामो समयसम्म पढाए । विद्यालय भवन बनेपछि विद्यालय आफ्नै भवनमा स¥यो । दरबार पुनः संरक्षणबिहीन भयो ।’
संरक्षण र रेखदेखको अभावमा गर्भा दरबारको भगनावेश मात्रै बाकी छ । यसलाई तत्काल पुनःनिर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने शिक्षक योगीले बताए । उनले दरबारसम्मै गाडी आउन थालेपछि गर्भा दरबार हेर्न आउने मान्छेहरु बढ्ने आशा पलाएको बताए ।
कृषि र ऐतिहासिक पर्यटनको सम्भावना रहेको गर्भामा प्रदेश सरकार र चुरे गाउँपालिकाले पर्यटन प्रबद्र्धनको योजना समेत बनाएका छन् । प्रदेश सरकारले सो दरबार पुनः निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर यसपाली ५० लाख रुपैया विनियोजन गरेको गाउँपालिका अध्यक्ष रोकामगरले बताए ।
उनले गर्भाको पुरानै डिजाइनमा नयां भवन निर्माण गर्ने तयारी भइरहेको बताए । “यसपाली पुरानो दरबार भत्काएर जग हाल्ने काम पुरा हुन्छ’ अध्यक्ष रोकामगरले भने– पुनःनिर्माण भइसकेपछि पहिले जस्तो देखिन्थ्यौ, त्यस्तै देखिने छ ।
मोटरबाटो गर्भा दरबारमै पुगेपछि अव सो दरबार हेर्न आन्तरिक पर्यटकहरु आउने सम्भावन बढेकाले सो क्षेत्रमा रेष्टुरेन्ट र होमस्टे सञ्चालन गर्न पुर्ने व्यवसायी श्याम महराले बताए । उनले आउने पर्यटकहरुलाई खैरालामै उत्पादन हुने मकै, कोदो, फापरको रोटी, माडा, ढिंडो लगायत र सिस्नु लगायतका स्थानीय तरकारीको स्वाद दिन सकिने बताए ।