३० श्रावण २०८३, शनिबार

डढेलो नियन्त्रणमा बेलायतले परिचालन गर्‍यो सेना



लन्डन/ अत्यधिक गर्मी, लामो खडेरी र बढ्दो डढेलोको चपेटामा परेको बेलायतमा आगलागी नियन्त्रण तथा उद्धार कार्यमा सहयोग गर्न सेना परिचालन गरिएको छ।

सरकारका अनुसार देशका विभिन्न क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा खटिएका आपतकालीन टोलीलाई सघाउन करिब दुई सय सैनिक परिचालन गरिएको हो। साउथ वेल्समा उद्धार तथा पुनर्स्थापना कार्यका लागि ‘क्वीन्स वन गोर्खा लजिस्टिक रेजिमेन्ट’का करिब एक सय सैनिकलाई ‘२२ इन्जिनियर रेजिमेन्ट’को सहयोगमा परिचालन गरिएको छ।

आगलागी प्रभावित क्षेत्रमा पानीको आपूर्ति सहज बनाउन २० हजार लिटर पानी बोक्न सक्ने क्षमताका चारवटा ट्यांकरसमेत परिचालन गरिएको छ। आवश्यक परे अन्य क्षेत्रमा पनि थप सैनिक पठाइने प्रधानमन्त्री एण्डी बर्नह्यामले बताएका छन्।

बेलायतमा पछिल्लो समय तापक्रम बढ्दै गएपछि इङ्गल्याण्ड र वेल्सका विभिन्न क्षेत्रमा डढेलो फैलिएको छ। आगलागीको जोखिम बढेपछि सरकारले शुक्रबार लाखौं नागरिकलाई मोबाइलमार्फत आपतकालीन चेतावनी पठाउँदै डिस्पोजेबल बारबेक्यू, फायरपिट, आतिसबाजी तथा बगैंचामा घाँस वा अन्य सामग्री जलाउनेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ।

सरकारले खुला आगो नबाल्न र चुरोटसमेत सावधानीपूर्वक व्यवस्थापन गर्न नागरिकलाई अपिल गरेको छ। गर्मीयाममा भएका गम्भीर डढेलोका घटनामा बारबेक्यू प्रमुख कारणमध्ये एक रहेको सरकारी अधिकारीहरूको भनाइ छ। बढ्दो जोखिमलाई ध्यानमा राख्दै डिस्पोजेबल बारबेक्यूको बिक्रीमा अस्थायी रोक लगाइएको छ।

यसैबीच, खडेरीको प्रभाव झेलिरहेका इङ्ग्ल्याण्डका किसानलाई सहयोग गर्न सरकारले ६ करोड ५० लाख पाउण्ड अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गरेको छ। हालै रेकर्ड गरिएको सबैभन्दा सुख्खा जुलाई महिनाको प्रभाव कम गर्न उक्त रकम खर्च गरिनेछ।

घोषित रकममध्ये पाँच करोड पाउण्ड ‘दिगो कृषि प्रोत्साहन २०२६’ कार्यक्रमअन्तर्गत खर्च गरिनेछ भने एक करोड ५० लाख पाउण्डसम्म खेतबारीमा पानी सञ्चय गर्ने पोखरी तथा जलाशय निर्माणमा प्रयोग गरिनेछ। सरकारले यस्ता जलाशय निर्माणमा देखिएका अनावश्यक अवरोध हटाउनुका साथै योजनासम्बन्धी निर्देशिका अद्यावधिक गर्ने जनाएको छ।

नेशनल फायर चीफ्स काउन्सिलका अनुसार यस वर्ष इङ्ग्ल्याण्ड र वेल्समा एक हजार १७ वटा डढेलोका घटना रेकर्ड भएका छन्। शुक्रबार पनि अग्निनियन्त्रकहरूले विभिन्न क्षेत्रमा आगो नियन्त्रणका लागि ठूलो प्रयास गर्नुपरेको थियो।

वेस्ट मिडल्याण्ड्समा आगलागीका कारण दर्जनौं घरमा क्षति पुगेको छ। वेल्सको कार्मार्थेनसायरस्थित ल्यान्डोभरी नजिकैको डढेलोपछि दर्जनौं घर खाली गराइएको छ भने केही सडक बन्द गरेर उद्धार तथा नियन्त्रण कार्य अघि बढाइएको छ।

ह्याम्पसायरमा आइतबारदेखि लागेको वन डढेलो नियन्त्रणमा अग्निनियन्त्रकहरू छैटौं दिनसम्म खटिएका छन्। नोर्फोक फायर एण्ड रेस्क्यू सर्भिसले बिहीबार माउसहोल्ड हीथमा लागेको आगोसहित १६ वटा आपतकालीन घटनासँग एकैपटक जुध्नुपरेको जनाएको छ।

राजकुमार विलियमद्वारा धन्यवाद

बेलायती राजकुमार विलियमले डढेलो नियन्त्रणमा खटिएका अग्निनियन्त्रक, आपतकालीन सेवाका कर्मचारी र स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन्।

उनले बेलायतभर आगोसँग जुधिरहेका सेवाकर्मीलाई धन्यवाद दिँदै डढेलोबाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। विशेषगरी घर गुमाएका परिवार र समुदायको सुरक्षाका लागि निरन्तर खटिइरहेका व्यक्तिहरूप्रति उनले संवेदना व्यक्त गरेका छन्।

विभिन्न सञ्चार माध्यामको सहयोगमा


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार