नवयुवाका माग पूरा गर्न २१ फागुनमा चुनाव हुुनैपर्छ : अर्थमन्त्री खनाल
आयोजकद्वारा राज्यमन्त्री बमलाई बोल्न नदिएर उपेक्षा

धनगढी, मंसिर २२ गते/ अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मै निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सव–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘सरकारले तोकेकै मितिमा निर्वाचन हुनुपर्छ । यस पटकको प्रतिनिधि सभाको निर्वाचनका लागि धेरै दल दर्ता भएका छन् । कसैले पनि निर्वाचन वहिस्कार गर्ने भनेका छैनन् ।’
उनले निर्वाचनमा विगतको जस्तो असुरक्षा नहुने बताए । उनले भने ‘निर्वाचनको सुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई आफ्नो सामथ्र्य अनुसारको तयारी गरेको छ । असुरक्षा हुँदैन् । नागरिक, राजनीतिक दल, सरकार सबै आआफ्नो क्षेत्रमा उत्तरदायी हुन आवश्यक छ ।’ सांस्कृति रुपमा मात्रै नभएर प्राकृतिक स्रोतले पनि सुदूरपश्चिम प्रदेश धनी भएको बताउँदै उनले यहाँको आर्थिक विकासको गति ढिला भएको बताए ।
यो प्रदेश किन पछाडि प¥यो खोतल्न आवश्यक रहेको र यहाँ ठूला आयोजनाको संख्या ज्यादै कम रहेको बताए । उनले भने ‘यहाँ ७ देखि दश हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । थुप्रै पर्यटकीय क्षेत्र भएपनि आर्थिक विकास र रोजगारी सिर्जनाको काम हुन सकेको छैन् ।’ उनले यस्तो सम्पदा सम्पन्न प्रदेशलाई आम्दानी र विकासको हिसावले अगाडि लैजान सक्ने प्रतिनिधिलाई आगामी निर्वाचनमा छानेर पठाउँदै त्यसपछि मात्रै जेनजी युवाले गरेको मागको संस्थागत हुने बताए ।
त्यस्तै अर्थमन्त्री खनालले सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण तथा सञ्चालनमा वर्तमान सरकार पूर्ण रूपमा सकारात्मक रहेको बताएका छन् । वर्तमान सरकारको मुख्य दायित्व आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए तापनि त्यसका साथै सम्भव भएसम्म विकास निर्माणका काम पनि अघि बढाइने उनले स्पष्ट गरे ।
अर्थमन्त्री खनालले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण जस्ता दीर्घकालीन महत्वका योजनाहरू सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । जन–आन्दोलनबाट उठेका परिवर्तनका मागलाई संस्थागत गर्न समयमै निर्वाचन आवश्यक रहेको भन्दै उनले वर्तमान सरकार विकास निर्माणभन्दा बढी सुशासनमा केन्द्रित रहेको उल्लेख गरे । फागुन २१ गतेको निर्वाचनपछि युवापुस्ताले चाहेका प्रतिनिधिहरू निर्वाचित भई आए देशले नयाँ युगमा प्रवेश गर्ने उनको विश्वास छ ।
अर्थमन्त्री खनालले देशभर पुनर्निर्माणका काम तीव्र रूपमा अघि बढिरहेको र भूकम्प तथा अन्य कारणले क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूको पुनर्निर्माणमा सरकार सक्रिय रहेको पनि बताए । निर्वाचनको सुरक्षा व्यवस्थाबारे जनताले कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे । सरकारको पहिलो प्राथमिकता नै निर्वाचन सफल बनाउनु रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निर्वाचनसँगै समग्र विकासको यात्रालाई पनि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सुदूरपश्चिममा लगानीको आवश्यक भएकाले सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले यहाँका गेम चेन्जर आयोजना अलपत्र रहेको बताउँदै त्यस्ता आयोजना पूरा गर्नमा सरकार लाग्नुपर्ने बताए । उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले सुदूरपश्चिमको समग्र विकासमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले विगतदेखि नै संघले राख्दै आएका केही माग अझै पूरा हुन नसकेको बताउँदै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न कला,संस्कृति झल्किने प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
उद्घाटन समारोहमा किन बोलेनन् राज्यमन्त्री वम

त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागि भएका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाई आयोजक पक्षले उपेक्षा गरेको छ । प्रदेश सरकारको प्रतिधित्व गर्दै कार्यक्रममा सहभागि राज्यमन्त्री बमलाई आयोजक कैलाली उद्योग वाणिज्य संघले मन्तब्य राख्न नदिएर उपेक्षा गरेको हो ।
कार्यक्रममा आयोजक पक्षका तर्फबाट कैलाली उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष केशवराज जोशीले स्वागत मन्तव्य गरेका थिए भने संघका अध्यक्ष पुस्कर ओझाले कार्यक्रमको सभापतित्व गर्दै आफ्नो मन्तव्य राखेका थिए । त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रुपमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, उद्योग वाणिज्य महासंघ केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल बोलेका थिए भने प्रमुख अतिथिमा संघीय सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल बोलेका थिए ।
तर, प्रदेश सरकारको प्रतिनिधिकारुपमा उपस्थित भएका राज्यमन्त्री बमलाई आफ्नो मन्तब्य राख्न नदिएर आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रदेश सरकारको अपमान गरेको त्यहाँ उपस्थितहरूले बताएका छन् । उनीहरूले भने, ‘कि कार्यक्रममा बोलाउनु थिएन्, बोलाइ सकेपछि प्रदेश सरकारको प्रतिनिधि भएर आएका राज्यमन्त्रीलाई आफ्नो धारणा राख्न नदिएर आयोजक पक्षले प्रदेश सरकारको अपमान गरेको छ । त्यो कुरा राम्रो तथा संस्कारी भएन ।’
कार्यक्रममा सहभागि राज्यमन्त्री बमले कार्यक्रममा बोलाएर गएको हुँ । कार्यक्रमको सेड्युल आयोजक कैलाली उद्योग वाणिज्य संघले बनाएको हुँदा प्रदेश सरकारको प्रतिनिधिलाई किन बोल्न दिइएन त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
महासचिव दिनेश लम्सालले आफूहरूबाट गल्ती भएको बताए । “हामीले मुख्यमन्त्रीलाई बोलाएका थियौ । उहाँ आउनु भएन, तर प्रदेश सरकारको प्रतिनिधिका रुपमा आउनु भएका बमको नाम कार्यक्रम सूचीमा नहुँदा उहाँलाई बोल्न आग्रह गर्दा पनि बोल्नु भएन,” महासचिव लम्सालले बताए ।




