१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्रीलाई कलाकारले भने निर्वाचनलाई अर्जुन दृष्टी बनाउनुस




काठमाडौ, कात्तिक ५ गते/ प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन् ।

समकालीन नेपाली सिनेमाका चर्चित नौ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न सुझाव दिए ।

‘प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्नलायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।’

निष्कलंक छवि र मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास कायम गरिसकेर घरमा आराम गरिरहेको अवस्थामा यो कठिन परिस्थिति सम्हाल्न आउनुभएकामा प्रधानमन्त्री कार्कीप्रति उहाँहरूले कृतज्ञता पनि प्रकट गरिन।

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ ऋचा शर्माले भनिन, ‘हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ। अब मुलुक ठिक दिशामा अघि बढ्नेछ। यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ।’

यो परिवर्तन नरुचाएका तत्तहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइहरेकोमा पनि कलाकारहरूले चिन्ता व्यक्त गरे । यस्तो दुस्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्ने उनीहरूको आग्रह थियो।

अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ। सरकारप्रति थप विश्वास र आशा जागेको छ। अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ।’

गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सह्राहना गर्दैै उहाँहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको उनले बताए ।

‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले बताए ।

‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन। ढुक्कसँग अघि बढ्नुहोस्। तपाईँको पक्षमा हामी छौँ। देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ। र, यतिखेर सकारात्मकताको खाँचो छ उनले भने ।

विभिन्न प्रकारका दागी र भ्रष्टाचारका आरोपीहरूले के भन्छन् भन्ने कुरालाई महत्व नदिन पनि उनीरूको आग्रह थियो।

साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरे ।

संगीतकार कालीप्रसाद बाँस्कोटाले भन्नुभयो , ‘समाज भड्काउन सजिलो छ। सम्हाल्न गाह्रो छ। अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्। त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो।’

यो सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रुपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तनपक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि सर्जकहरूले औँल्याए।

अभिनेता विजय बरालले, ‘यो परिवर्तनको पक्षमा रहेका हामी सारा नेपाली जनता एकातिर छौँ। जनताबाट तिरष्कृत एउटा फुच्चे पावर अर्कोतिर छ। त्यसले हामीलाई पेलिरहेको छ। यो कुरा हामी सबैले बुझ्नुपर्छ भने ।

प्रधानमन्त्री कार्कीले छलफलको अन्त्यमा भनिन ‘साथ सहयोग सबैको चाहिन्छ। समाजमा तपाईँहरूको प्रभाव छ। दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस्। तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ। हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ।’

भेटघाटमा कलाकार तथा सर्जकहरू सुजित बिडारी, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा र कर्मालगायतको उपस्थिति थियो। भेटघाटको संयोजन पुकार बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार