पत्रकार मिश्रमाथि आक्रमण

कैलालीको घोडाघोडी नगरपालिकाका पत्रकार प्रकाश मिश्रमाथि समाचार प्रकाशन गरेको विषयलाई लिएर आक्रमण भएको छ ।
यसै दैनिकमा चैत ४ गते ‘कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमयी जमघट’ शीर्षकको समाचार प्रकाशित भएको विषयलाई लिएर उनीमाथि आक्रमण भएको हो ।
मिश्र पहलमानपुर आएका बेला काम छ भनि बिहीबार पसलमा बोलाएर घोडाघोडीमा सञ्चालनमा रहेको ओजुवा क्याफेका सञ्चालक डबलबहादुर शाह र पहलमानपुरमै रहेको सिर्जना होटलका सञ्चालक चेतबहादुर सिंहले उनीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार मिश्रको हातमा गम्भीर चोट लागेको छ । जानकारी अनुसार डबल बहादुर शाहलाई प्रहरीले पक्राउ गरिसकेको छ भने चेतबहादुर सिंह फरार छन् ।
समाचार प्रकाशन गरेको विषयमा गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ, केन्द्र, सुदूरपश्चिम प्रदेश तथा कैलाली समितिको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारको विषयमा असहमति भए कानूनी उपचारमा जानुको सट्टा पत्रकारलाई बोलाएर, समूह बाँधेर गरिएको आक्रमणको महासंघले घोर निन्दा र भ्रत्सर्ना गरेको विज्ञप्तिमा जनाइएको छ साथै दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याई कारवाहीको माग गरेको छ ।
पत्रकार मिश्रले आक्रमणमा संलग्नद्वय शाह र सिंहविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेका छन् ।