२२ बैशाख २०८१, शनिबार

देउडा गायनमा १४ वर्षपछि अन्तराम विष्टको ‘कमब्याक’, देउर्‍या सार्वजनिक



धनगढी/ कुनै बेला देउडा गायनमा जमेर चर्चित बनेका अन्तराम विष्ट यो बीचमा गुुमनाम जस्तै बने । दर्शक तथा स्रोताको मन, मस्तिष्कबाट भने ओझेलमा नपरेका विष्ट २०६६ सालदेखि देउडा संगितको क्षेत्रबाट टाढा भए । यो अवधीमा कञ्चनपुरको गुलरियामा आफ्नै विद्यालय खोलेर उनी शिक्षण पेशामा क्रियाशिल रहे । तर विष्टलाई दर्शक र स्रोताको मायाले फेरि देउडा गायनमा फर्किने हुठहुठी जाग्यो । सोही हुठहुठी लिएर विष्ट १४ वर्षपछि फेरी सांगितिक क्षेत्रमा फर्किएका छन् ।

२७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्‍या ’ बोलको देउडा गितको शब्द परिमार्जनसहित बिष्टले म्युजिक भिडियो बजारमा ल्याएका छन् । विष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधबार उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आफैले सिर्जना गरेको गित विष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ । २७ वर्षअघि भने गायिका पवित्रा घर्तीमगरले गितमा स्वर दिएकी थिइन् । गीतले देबर र भाउजुबीचको आत्मियतालाई उजागर गर्ने प्रयास गरेको छ ।

‘२७ वर्ष पहिले मैले सिर्जना गरेर बजारमा ल्याएको यो गित पूरानो भाकामा रहेको छ । अहिले केही शब्द परिमार्जन गरेर समयसापेक्ष बनाउने प्रयास गरेका छौँ,’ विष्टले भने, ‘यो मेरो लामो समयको बिश्राम९ग्याब० पछिको निरन्तरता स्वरुप ल्याएको हुँ । अब देउडा गायनमा निरन्तरता दिने प्रयास गर्नेछु ।’

विष्टले पहिलेको समयमा सुदूरपश्चिममा देउडा गायिकाको अभाव रहेका कारण पूर्वतिरका गायिकामार्फत स्वर दिने गरेकोमा भाषा प्रष्ट नहुँदा केही अन्योलता सिर्जना गरेको अनुभव सुनाए । तर अहिले भने अहिले प्रदेशकै गायिकालाई स्थान दिइएको बताउदै स्रोता तथा दर्शकले रुचाउने विश्वास उनको छ ।

२०६६ सालदेखि देउडा गायन छाडेर शिक्षण पेशामा आवद्ध भएका विष्टले स्रोत तथा पाठकको मायाले फेरी सांगितिक क्षेत्रमा फर्काएको समेत बताउदै अब निरन्तरता दिने बताएका छन् । ‘टिकटक र फेसबुकमा लाइभ बस्दा धेरै दर्शकले नयाँ गित कहिले सुन्न पाइन्छ भनेर सोध्ने, चासो राख्ने गर्नुभएको थियो । उहाँहरुको प्रतिक्षाको घडी ‘देउ¥या’ले पूरा गरेको छ,’ उनले भने, ‘छिट्टै नयाँ भाकामा आधारित भएर अर्को गित ल्याउने तयारीमा छु । स्रोत तथा दर्शकको मायाले फेरी सांगितिक क्षेत्रमा निरन्तरता दिने प्रयास गर्नेछु ।’

२०२७ सालमा बैतडीको पाटनमा जन्मिएका बिष्ट सुुदूरपश्चिमको देउडा गायनमा सर्मपित गायक मध्येका एक हुन् । २०५१ सालमा गायन क्षेत्रमा प्रवेश गरेका विष्टले २४ वटा एल्बम निकालिसकेका छन् भने सात सय गीतमा स्वर दिएका छन् । पुरुषका जुंगाका बारेमा गाइएको बिष्टको घोप्ट्या जुङ गित निकै चर्चित भएको थियो । सो गीतले २०६६ सालमा डोटेली भाषाको देउडा गित मध्येकै उत्कृष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार