१५ चैत्र २०८०, बिहीबार

कुटपीटबाट मारिएका बाजुराका ऐडीको दाहसंस्कार




मार्तडी/ चुनावकै दिन मङ्सिर ४ गते राति कुटपीटपछि मारिएका बाजुराको त्रिवेणी नगरपालिका‐ ७ का अनेरास्ववियुका केन्द्रीय सदस्य ३३ वर्षीय चेतन ऐडीको नौ दिनपछि आज बुढीगंगा नदीमा दाहसंस्कार गरिएको छ ।

सोही दिन प्रहरीको गोलीबाट नेपाली कांग्रेसका कार्यकर्ता सञ्जिव ऐडी मारिएपछि आक्रोशित समूहले नेकपा (एमाले) का कार्यकर्ता चेतनलाई कुटपीट गरेको थियो । कुटपीटकै कारण उनको ज्यान गएको दावी गरिएको छ ।

चेतनको बाजुरा सदरमुकाम मार्तडीमा अन्तिम श्रद्धाञ्जली दिइएपछि बुढीगंगा नगरपालिकाको सेरामा पर्ने बुढीगंगा नदीमा दाहसंकार गरिएको एमालेका उपसचिव हरि रोकायाले बताए ।

श्रद्धाञ्जली कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा प्रदेश सभाका उम्मेदवार लालबहादुर थापा र अर्का केन्द्रीय सदस्य प्रकाशवहादुर शाह लगायतले ऐडीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । एमालेका स्थायी समिति सदस्य थापाले हत्यामा संलग्न सबैलाई पक्राउ नगर्दासम्म आन्दोलन जारी रहने बताए ।

चेतनको कुटपीटमा संलग्नताको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि दाहसंकार गरिएको हो । चेतनका आफन्तहरुले कुटपीटमा संलग्नलाई पक्राउ नगरेसम्म दाहसंंस्कार नगर्ने परिवारले बताउदै आएको थियो ।

चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै २२ जना विरुद्ध जिल््ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएको छ ।

सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सञ्जिव पनि शुक्रवार दासंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार