आम निर्वाचन, २०७९ : सुदूरपश्चिममा ७ सिट जितेर काँग्रेस अग्रस्थानमा, नाउपा र नेकपा (एस) ३/३, एमाले २
धनगढी
प्रतिनिधि सभा सदस्य सदस्यका सात सिटमा विजयी हुँदै सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले तीन/तीन सिट जितेका छन् । नेकपा एमालेले दुई सिट जितेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका १६ सिटमध्ये १५ स्थानको अन्तिम नतिजा घोषणा भइसकेको छ । बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको निर्वाचन स्थगित भएका कारण मतगणना हुनसकेको छैन ।
यस पटक काँग्रेसले डडेल्धुरा, कैलाली ४ र ५, कञ्चनपुर २ र ३, अछाम २ तथा दार्चुलामा प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गरेको छ । त्यस्तै, नागरिक उन्मुक्तिले कैलाली क्षेत्र नम्बर १, २ र ३ मा विजय हासिल गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले डोटी, अछाम १ र बझाङमा जीत प्राप्त गर्दा एमाले बैतडी र कञ्चनपुर १ मा विजयी भएको छ ।
काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । डडेल्धुराबाट यो उनको लगातार सातौ जीत हो ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडू दार्चुलामा निर्वाचित भएका छन् । कैलाली ४ बाट काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, क्षेत्र नम्बर ५ बाट डिल्लीराज पन्त, कञ्चनपुर २ बाट केन्द्रीय सदस्य एनपी सावद, ३ बाट केन्द्रीय सदस्य रमेश लेखक र अछाम २ बाट जिल्ला सभापति पुष्पबहादुर शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छिन् । त्यस्तै अरुणकुमार चौधरी २ बाट र गंगाराम चौधरी कैलाली ३ बाट विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट डोटीमा पूर्वमन्त्री प्रेम आलेमगर, अछाम १ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र बझाङमा पूर्वमन्त्री भानुभक्त जोशी विजयी भएका छन् ।
एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् । तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । पूर्वराज्यमन्त्री समेत रहेका भण्डारी यसअघि दुई पटक बैतडीबाट निर्वाचित भइसकेका छन् ।
गत २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाको एक सिट मात्रै जितेको काँग्रेस ले यसपटक १५ सिटमा ७ सिट जितेको छ । सो निर्वाचनमा एमालेले ११ सिट जितेकोमा अहिलेसम्म दुई सिटमा झरेको छ । एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले तीन सिट पुर्याएको छ । गत वर्ष पुसमा मात्रै स्थापना भएको नागरिक उन्मुक्तिले पहिलो चोटी नै प्रतिनिधि सभा सदस्यको तीन सिट जितेको छ ।