२ जेष्ठ २०८१, बुधबार

बैतडी प्रदेश सभा (ख) मा कांग्रेसबाट शिवराज भट्ट विजयी




बैतडी/ बैतडी प्रदेश सभा (ख) को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस बैतडीका नेता शिवराज भट्ट विजयी भएका छन् ।

नेपाली कांग्रेस बैतडीका पूर्व जिल्ला सभापतिसमेत रहेका भट्टले १७ हजार १५२ मत लिएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीलाधर भट्टले १६ हजार ७१६ गरे ।

बैतडी प्रदेश सभा निर्वाचन (ख) मा रहेका दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाको १ नम्बर वडा र डिलासैनी गाउँपालिकाका दुई वडा गरि कुल ३८ हजार मत गणना हुँदा शिवराज भट्टले सबै भन्दा बढी १७ हजार १५२ मत प्राप्त गरेका हुन ।

२०३६ सालदेखि नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका भट्टले अर्थशास्त्र विषयमा स्नातकोत्तर र कानुन विषयमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

वि.संं.२०१३ सालमा दशरथचन्द नगरपालिका–२, देहिमाडौंमा जन्मेका भट्ट २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष सहभागी थिए ।

बैतडीबाट प्रदेश सभा निर्वाचनमा विजयी भएपछि उनले बैतडीका मतदाताको भावना अनुसार काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार