३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिममा एकीकृत समाजवादीको खाता खुल्यो : अछाम–१ मा मन्त्री कुँवर विजयी



अछाम/अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। कुँवर चार हजार ४८९ मतान्तरले विजयी भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुन मगरका अनुसार कुँवरले १९ हजार ५३४ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत ल्याएर तेस्रो भएका छन् ।

सोही क्षेत्रको निर्वाचनमा हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा र स्वतन्त्रका उम्मेदवार महेन्द्र बोगटी १७१/ १७१ मत र अर्का स्वतन्त्र उम्मेदवार हिक्मत कुँवरले १०२ मत प्राप्त गरे । अछाम क्षेत्र नम्बर १ मा जम्मा खसेका ४१ हजार ३९२ मत मध्येमा एक हजार ९७७ मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

विजयी हुनुभएका कुँवर एमालेबाट २०६४ को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट निर्वाचित भएका थिए बोहरा २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सोही क्षेत्रको ‘ख’ प्रदेशबाट निर्वाचित भएका थिए।

कुँवर २०७४ को निर्वाचनपछि एमालेबाटै राष्ट्रियसभा सदस्य हाल समाजवादीबाट मन्त्री छन् । बोहरा भने माओवादीबाटै सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । उनले माओवादी छोडेर एमाले हुँदा प्रदेश सभा सदस्य र मन्त्री पद गुमाउनु परेको थियो ।

अछाम–१ मा २०५१, २०६४, २०७०, २०७४ मा एमालेले प्रतिनिधित्व गरेको थियो भने २०४८, २०५६ मा काँग्रेस विजयी भएको थियो । २०६४ को संविधानसभापछि अछाम–१ मा निरन्तर वामपन्थीहरु निर्वाचनमा विजयी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार