३ जेष्ठ २०८१, बिहीबार

कैलालीका तीन क्षेत्रमा नाउपाको अग्रता




धनगढी/ प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कैलालीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले तीन क्षेत्रमा निरन्तर अग्रता लिएको छ । कैलालीका ५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म ४ मा मतगणना भइरहेको छ । कैलाली ४ मा एमालेले झिनो मतान्तरले अगाडी छ ।

कैलाली १ मा मंगलबार बिहान ८ बजेसम्म ११ हजार ५६५ मत गणना भइसकेको छ । नाउपाका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले पाँच हजार २०१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँगे्रसका रामजनम चौधरीले तीन हजार ३७० मत पाएका छन् । नेकपा एमालेका तपेन्द्रबहादुर रावल एक हजार १५१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

कैलाली २ मा नाउपाका अरुनकुमार चौधरी प्रतिस्पर्धीभन्दा करिब ६ सय मतले अगाडी छन् । अरुनले एक हजार ४८८ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवालले ८६६ तथा नेकपा एमालेका झपटबहादुर रावलले ६२७ मत पाएका छन् । सो क्षेत्रमा अहिलेसम्म तीन हजार २७१ मत गणना भएको छ ।

कैलाली ३ मा पनि नाउपाका उम्मेदवार करिब ४ हजार मतान्तरले अगाडी छन् । अहिलेसम्म ४५ हजार मत गणना हुँदा नाउपाका गंगाराम चौधरीले १६ हजार ६९३ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धन उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १२ हजार ६९८ मत पाएका छन् । त्यस्तै, एमालेका गौरीशंकर चौधरीले ७ हजार ४७४ र राप्रपाका वीरेन्द्रबहादुर बमले ६ हजार ३४३ मत प्राप्त गरेका छन् ।

कैलाली ४ मा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

कैलाली ४ मा प्रतिनिधि सभा सदस्य पदका लागि गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका लेखराज भट्टबीच कडा प्रतिस्पर्धा भइरहेको छ । मतगणना शुरु भएदेखि अगाडी रहेका काँग्रेसका बलायरलाई अहिले एमालेका भट्टले उछिनेका छन् । मंगलबार बिहान ९ बजेसम्मको मतगणना परिणामअनुसार एमालेका भट्टले पाँच हजार ७४० र काँग्रेसका बलायरले ५ हजार ३१९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार