३ जेष्ठ २०८१, बिहीबार

मतगणनामा ढिलाई हुँदा आशंका बढ्यो– स्वतन्त्र उम्मेदवार ओझा



धनगढी / कैलाली ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले मतगणना कार्यमा भएको “अनावश्यक ढिलाईले आम मतदातामा गम्भीर आशंका बढेको” बताएका छन् । उनले मतगणनाप्रति आममतदातामा आशंका बृद्धि हुँदा निर्वाचनको मर्यादा र विश्वसनीयतामाथि पनि गम्भीर क्षती पुग्ने बताए ।

“मतदान भएको २६ भन्टा वितिसक्दा पनि कैलाली ५ मा मतगणना कार्य शुरु भएको छैन” सोमबार अबेर साँझ धनगढीमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार ओझाले भने– विगतमा पनि मतगणना कार्यमा अनावश्यक विलम्ब गरिँदा आमजनतामा नतिजालाई प्रभावित गर्न पछाडीका ढोकाबाट सेटिङ गरियो भन्ने आशंका व्याप्त हुने गर्दथ्यो । आमजनतामा यस्ता आशंका बृद्धि हुँदा स्वच्छ र मर्यादित निर्वाचनका मुल्यमान्यताहरुमा नै क्षती पुराउने गरेको छ ।

कैलाली ५ मा आज सोमबार बिहानदेखि मतगणना गर्ने भनिए पनि वडापिच्छे गर्ने वा दुई वा दुईभन्दा बढी वडाको मत मिसाएर गर्ने भन्नेमा विवाद भएपछि मतगणना कार्य अघि बढ्न सकेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ एक सूचना जारी गर्दै भोली (मङ्गलबार) बिहान ८ बजेदेखि मतगणना शुरु गरिने जनाएको छ । “निर्वाचन अधिकृतको कार्यालयको यो सूचनाको म स्वागत गर्दछु” पत्रकार सम्मेलनमा ओझाले भने– कथंकदाचित फेरि पनि मतगणनामा ढिलाई भयो भने दुर्भाग्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार