३ जेष्ठ २०८१, बिहीबार

प्रतिनिधि सभा निर्वाचन: कैलालीका २ स्थानमा नाउपा अगाडी, एक स्थानमा काँग्रेसको अग्रता




धनगढी/ प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा कैलालीका २ स्थानमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अग्रता कायम राखेको छ । एक स्थानमा काँग्रेस प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडी छ ।

कैलालीका प्रतिनिधि सभा सदस्यका ५ स्थानमध्ये १, २ र ३ मा मतगणना जारी छ । क्षेत्र नम्बर २ र ५ मा विवादका कारण अझैं मतगणना शुरु हुनसकेको छैन ।

कैलाली १ मा नाउपाका रञ्जिता श्रेष्ठ चौधरी निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजनम चौधरीभन्दा २८० मतले अगाडी छिन् । सोमबार दिउँसो साढे ३ बजेसम्म एक हजार ५०२ मत गणना हुँदा रञ्जिताले ६९१ मत प्राप्त गरेकी छिन् । भने काँग्रेसका रामजनमले ४११ मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका तपेन्द्रबहादुर रावलले १८३ मत प्राप्त गरेका छन् ।

क्षेत्र ३ मा एक हजार ८१० मत गणना हुँदा नाउपाका गंगाराम चौधरी ६०१ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी, कुन्दनले ४५० प्राप्त गरेका छन् । राप्रपाका वीरेन्द्रबहादुर बमले ४०१ मत प्राप्त गर्दा एमालेका गौरिशंकर चौधरीले २५० मत मात्रै पाएका छन् । कैलाली–३ मा ६१ हजार ६६८ मत खसेको थियो ।

कैलाली ४ मा काँग्रेसका वीरबहादुर बलायर प्रतिस्पर्धी एमालेका लेखराज भट्टभन्दा दोब्बर बढी मतान्तरले अगाडी छन् । बलायर अहिलेसम्म १२७ मत पाएका छन् भने भट्टले ६१ मत पाएका छन् । सो क्षेत्रमा अहिलेसम्म २०० मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार