३ जेष्ठ २०८१, बिहीबार

कैलाली ५ मा मतगणनाबारे विवाद




तनावबीच मुख्य निर्वाचन अधिकृत अस्वस्थ, मतगणना कार्यमा ढिलाई
धनगढी/ कैलाली ५ मा हरेक वडाको छुट्टाछुट्टै मतगणना गर्ने वा मिसाएर गर्नेबारे दलहरुबीचको विवादका अझैं टुंगिनसकेको छैन । मतगणनाबारे सहमति हुननसक्दा सोमबार दिउँसो साढे २ बजेसम्म मतगणना कार्य शुरु हुनसकेको छैन ।

विवादबीच मुख्य निर्वाचन अधिकृत अचानक अस्वस्थ भएका छन् । कैलाली ५ मा मतगणनाका लागि आज (सोमबार) बिहान ९ बजेदेखि तीन घन्टासम्म सर्वदलीय बैठक बसे पनि कुनै टुङ्गो लागेन । सर्वदलीय बैठकमा सहभागी नेपाली काँग्रेससहित गठबन्धनले प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्नुपर्ने अडान राखेको छ । तर, अन्य दल भने दुई वा दुई भन्दा बढी वडाको मत एकै ठाउँमा मिसाएर मतगणना गर्नुपर्ने पक्षमा रहेका छन् । कैलाली ५ मा २१ वडा रहेका छन् ।

मतगणना कसरी गर्ने भन्नेमा दलहरुबीच सहमति हुननसकेपछि मुख्य निर्वाचन अधिकृतले “दुई वा सोभन्दा बढी वडाको मत मिसाएर मतगणना गर्ने” प्रस्ताव गरेपछि काँग्रेसले “नोट अफ डिसेन्ट” लेखेको बताइएको छ । काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने– हामीले प्रस्तावमा नोट अफ डिसेन्ट लेख्यौं । प्रत्येक वडाको अलगअलग मतगणना नगरिए स्वीकार नगर्ने भनेका छौं ।

मतगणनाबारे जारी विवादबीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल अचानक अस्वस्थ भएका छन् । कैलाली ५ को मतगणनास्थल क्षेत्रीय स्वास्थ्थ्य तालिम केन्द्रमा दिउँसो साढे १२ बजेतिर उनी रक्तचाप एक्कासी बढेर बेहोसीको अवस्थामा पुगेका थिए । तत्काल चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका थिए । मुख्य निर्वाचन अधिकृत अर्यालको रक्तचाप बढेर १५०–१०० पुगेको चिकित्सकहरुले बताए ।

अहिले क्वार्टरमा आराम गरिरहेका मुख्य निर्वाचन अधिकृत अर्यालले सञ्चारकर्मीहरुसंग आफू पहिलेदेखि नै अस्वस्थ रहेको र मतगणनाबारे विवाद बढेका कारण झन् बढी तनावमा पुगेको बताए । उनले मतगणनाबारे विवाद समाधान नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार