३ जेष्ठ २०८१, बिहीबार

कैलालीको सुरक्षा अवस्था र तयारी मजबुद रहेको दावी



टीकापुर / मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था र मतदान स्थलको अवस्था बारे कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र सुरक्षा अधिकारी सहितको टोलीले जानकारी लिएको छ ।

सो टोलीले विहिबार कैलालीको पूर्वी क्षेत्रका केही मतदान स्थल र सुरक्षा तयारीको अवस्था बारे स्थलगतरुपमै जानकारी लिएको हो । टोलीले क्षेत्र नं. १, २ र ३ को सुरक्षा अवस्था बारे सुरक्षामा खटिएका अधिकृत र तीनै क्षेत्रका मतदान अधिकृतसंग पनि छलफल गरेको थियो ।

टोलीले क्षेत्र नं. १ को टीकापुर, जोशीपुर र क्षेत्र नम्बर २ को लम्कीका केही मतदान स्थलको अनुगमन पनि गरेको थियो ।
तीनै क्षेत्रका निर्वाचन अधिकृतहरुले सबै मतदान स्थलमा मतदानका लागि आवश्यक पर्ने सामाग्रीहरु पठाइसकेको जानकारी सो टोलीलाई दिएका थिए । क्षेत्र नं. २ का निर्वाचन अधिकृत तेजप्रकाश जोशीले विकट पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका १३ मतदान स्थलमै बुधबारै र विहीबार बाँकी क्षेत्रमा मतदानलाई आवश्यक पर्ने सबै सामाग्री पठाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी थापा सहितको सुरक्षा अधिकारीहरुको टोलीले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न पनि आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार निर्वाचन सुरक्षा व्यवस्था बलियो बनाउनका लागि सुरक्षाकर्मीको मोवाइल टोली, स्ट्राइकिङ फोर्स, रिजर्भ फोर्स, नेपाली सेना मातहत हेलिकोप्टरको व्यवस्था र वम डिस्पोजल टोली तयार राखिएको बताए । कैलालीका केही ठाउँमा निर्वाचन बहिस्कार गर्ने विप्लव पक्षको बाहुल्यतालाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ ।

प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ वटा मतदान स्थल र ६२९ मतदान केन्द्र रहेका छन् । ती मध्ये ५३ मतदान स्थल अति संवेदनशिल, १३१ संवेदनशिल र ५३ मतदान स्थल सामान्य रहेको वर्गिकरण गरिएको छ ।

टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, नेपाली सेना प्रमुख सेनानी रवि केसी, राष्ट्रिय अनुसन्धान कैलालीका प्रमुख रमेशसिंह डाँगा, प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्ट लगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार