२ जेष्ठ २०८१, बुधबार

गठबन्धनका उम्मेदवार रावललाई टक्कर दिँदै चौधरी र न्यौपाने



टीकापुर / कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य रणबहादुर रावल गठबन्धनबाट उम्मेदवार छन् ।

नेता रावललाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी र नेकपा (एमाले) का युवा नेता द्वारिकाप्रसाद न्यौपानेले टक्कर दिने देखिएको हो । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन भएका बेला पनि कांग्रेसबाट विजयी रावललाई यस पटक विरासत जोगाउन चुनौती देखिएको छ ।

उन्मुक्तिका चौधरी रावलका २०७४ कै प्रतिस्पर्धी हुन । टीकापुर नगरपालिका नै प्रदेश सभा (ख) क्षेत्र भएकाले यहाँ गत वैशाखमा सम्पन्न चुनावमा दलहरूले पाएको मतका आधारमा विश्लेषण सुरुभएको छ ।

गत वैशाखको निर्वाचनमा नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र र वडा नम्बर १ को वडाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गरेका थिए । तर उपप्रमुख मात्रै जितेको थियो । नगरप्रमुखमा नागरिक उन्मुक्ति र वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

नगरप्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवार नौ हजार ६४२ मत पाई विजयी भएका थिए । कांग्रेसका उम्मेदवारले छ हजार ६४२ र एमालेका उम्मेदवारले चार हजार ९३३ मत पाए ।

वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका कांग्रेस–माओवादीको मत एक ठाउँमा आउँदा भने गठबन्धनका उम्मेदवार सहजै विजयी हुने सम्भावना देखिन्छ । टीकापुरका तीन वडाध्यक्षमा कांग्रेस, तीन वडाध्यक्षसहित उपप्रमुखमा माओवादी केन्द्र, दुई वडाध्यक्षसहित नगरप्रमुख नागरिक उन्मुक्ति र एउटा वडाध्यक्ष एमालेले जितेको छ । गठबन्धनका वडाध्यक्षका उम्मेदवारले दश हजार ९९४, नागरिक उन्मुक्तिले सात हजार १३९ मत पाएका छन् ।

यस पटक गठबन्धन दलको मत एकै ठाउँमा खस्ने र आफू सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलको नेता र पछिल्लो समय मन्त्री भएर गरेका विकास निर्माणका आधारमा जनमत आफ्नो पक्षमा आउने रावलको भनाइ छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरी भने यस पटक आफ्नो पार्टीको पक्षमा लहर आएकाले स्थानीय तहझैँ आफ्नो पक्षमा मत आउने दावी गरे ।

यस्तै, एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने आफूले उठाएका युवाका एजेण्डा र कर्णाली कोरिडको अवधारणा मतदाताले मन पराएकाले आफू जितको नजिक रहेको बताए । स्थानीय तहमा बीपी कांग्रेसका वडाध्यक्षका दुई उम्मेदवार नागरिक उन्मुक्तिमा लागेका छन् । उन्मुक्तिका नगर कमिटी अध्यक्षले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यहाँ दश जना उम्मेदवार चुनावी मैदानमा छन् । यस प्रदेश सभामा ५४ हजार १२२ मतदाता छन् । जसमध्ये २२ हजार चार मतदाता वडा नम्बर १ मा मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार