२ जेष्ठ २०८१, बुधबार

कैलाली क्षेत्र नम्बर २ ख मा तीन युवा, त्रिपक्षीय प्रतिस्पर्धा




टीकापुर/ कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा ख मा मुख्य दलबाट युवा नेताहरु चुनावी प्रतिश्पर्धामा उत्रिएका छन् ।

गठवन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव ३६ वर्षका नन्दबहादुर साउँद उम्मेदवार छन् भने नेकपा (एमाले) बाट कैलालीका सचिव ४४ वर्षीय डेजी पाण्डे उम्मेदवार छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट पनि ४५ वर्षका व्यवसायी रामेश्वर चौधरी उम्मेदवार भएका छन् । आआफ्नो पार्टीभित्र प्रभाव राख्ने र मतदाता हेर्दा कसैको स्पष्ट बहुमत नदेखिएले तीनै युवा आफू जित्नेमा आशावादी छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश सभा सदस्य रहिसकेका र यस अवधिमा प्रदेशको बजेटबाट निर्वाचन क्षेत्रमा आयोजना पारेकाले मतदाताले आफूलाई मत दिने गठवन्धनका उम्मेदवार नन्दबहादुर साउँदको भनाई छ । उनी माओवादी युद्धमा पनि सक्रिय थिए ।
विद्यार्थी राजनीतिबाट खारिएका, कानून पढ्नुभएका र युवा व्यवसायीको पहिचान बनाएका एमाले कैलालीका सचिव पाण्डे युवाको भावना बोक्ने युवालाई व्यवसायिक बनाएर स्वदेशमै रोजगारी सृजना गरेर देश समृद्ध बनाउने योजना अघि सारेकाले जनमत आफ्नो पक्षमा भएको बताउछन् । विद्यार्थी आन्दोलनका चर्चित नेता पाण्डे कैलाली बहुमुखी क्याम्पसको स्ववियू सभापति समेत भइसकेका छन् ।

राजनीति सेवाभावले गर्नुपर्छ भन्ने मान्यता राख्ने पाण्डे व्यवसाय पनि गर्नुपर्छ भन्दै मत्स्य व्यवसायमा पनि संलग्न छन् । चन्दाबाट होइन आफ्नै कर्मले राजनीतिकर्मी बाच्नुपर्छ भन्ने सोचले माछा पालनमा लागेको पनि उम्मेदवार पाण्डे बताउछन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार व्यवसायी रामेश्वर चौधरी पेट्रोल पम्पका सञ्चालक हुन । लामो समय व्यवसाय गरेर जनतासँगको सम्वन्धका कारण आफूले मत पाउने बताउछन् ।

गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा पहिलोमा काँगे्रस, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र नागरिक उन्मुक्ति चौथोमा छ । त्यतिबेला नेपाली कांगे्रसमा रहनु भएका अरुनकुमार चौधरी अहिले नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभाको उम्मेदवार बनेकाले नागरिक उन्मुक्तिको भोट अत्याधिक बढने विश्लेषकहरु बताउछन् ।

यहाँ स्वतन्त्र उम्मेदवार भरतकुमार शाही र सन्तु डगौरा थारु पनि मतदाता सामू सशक्त रुपमा प्रस्तुत भएको र मतदाता आकर्षित भैरहेका स्थानीयको बुझाई छ । स्वतन्त्र उम्मेदवार शाही र थारुले दलका उम्मेदवारबाट असन्तुष्टहरुको मत पाउने अपेक्षा गरेका छन् ।

यहाँ उम्मेदवारमा महिला नेपाल मजदूर किसान पार्टीबाट दीपा विष्ट मात्रै छन् । यस क्षेत्रमा दुई जना स्वतन्त्रसहित नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश सभा क्षेत्रमा ४८ हजार ५६४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार